
३ बैशाख, सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई आज ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ ।
ध्यानाकर्षण पत्र लाखौ मानिसको ज्यान लगिसकेको कोरोना भाइरस (कोभिड १९) कारण विश्वभर त्रास छाएको छ । पृथ्वी नै सिध्याउने अत्यन्तै घातक शस्त्र अस्त्र र परमाणु वम बनाउने होडवाजी र त्यसको चेतावनीमा त्रसित रहने विश्व यतिबेला भने एउटा भाइरससँग नराम्ररी थलिएको छ । यसले विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्धपछि त्यसभन्दा पनि ठूलो क्षति पु¥याइसकेको छ । यो विश्वमा अकल्पनीय नयाँ खतरा बनेर आएको छ । विश्व यतिबेला एकखालको बन्दी जस्तै भएको छ र यो भाइरसमाथि पूर्णतः विजय प्राप्त गर्दासम्म विश्व अर्थतन्त्रमा अहिलेसम्मकै ठूलो क्षति पुग्ने अनुमान गरिएको उल्लेख छ ।
प्रकृतिमाथि मानिसले निरन्तर गरिरहेको अनियन्त्रित दोहन र औद्योगिक गतिविधिले पृथ्वीको आयु नस्ट गर्दै गएको चर्चा भइरहँदा कोरोना भाइरसले भविष्यमा मानव जीवनमाथि कल्पना नै नगरेका अरु खतराहरु आउन सक्ने संकेत पनि गरेको छ । समग्र जनजीवन नै प्रभावित गरेको कोरोनाले विश्व सञ्चार जगत पनि नराम्ररी प्रभावित भएको छ । कोरोनाले अहिलेसम्म विश्वमा एक दर्जनभन्दा बढी पत्रकारको ज्यान लिइसकेको छ ।
अन्तराष्ट्रिय पत्रकार महासंघले दिएको जानकारी अनुसार ल्याटिन अमेरिका र क्यारिवियन क्षेत्रमा मात्र १३ जना पत्रकारको कोरोना महामारीबाट ज्यान गएको छ । विश्वका ठूला ठूला सञ्चारमाध्यमहरु बन्द भएका छन् । नेपाली सञ्चारमाध्यममा पनि यस महामारीको असर नराम्ररी परेको छ । अधिकांश प्रिन्ट मिडियाहरु बन्द भएका छन् भने विद्युतीय सञ्चारमाध्यम (रेडियो टेलिभिजन) तथा अनलाइन मिडियाहरु मुस्किलले सञ्चालन भइरहेका छन् । तर, लकडाउन बढ्दै जाँदा ती सञ्चारमाध्यमहरु पनि कहिलेसम्म प्रकाशन, प्रशारण होलान भन्न सकिदैन । विश्वभर त्रास फैलाएको कोरोना भाइरसको प्रभाव कर्णाली प्रदेशका सञ्चारमाध्यममा पनि परेको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका छापा माध्यमहरु पूर्णतः बन्द भएका छन् । कोरोनाको त्रास र लकडाउनको प्रभावसँगै जुध्दै सञ्चारकर्मीहरु अहिलेसम्म समाचार सम्प्रेषण भने गरिरहेका छन् । कर्णाली प्रदेशका मिडियाको अवस्था कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, सल्यान, रुकुम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट जिल्लाबाट प्रकाशन हुने सबै पत्रपत्रिकाहरु बन्द रहेका छन् । प्रदेशका १० जिल्लामा रहेका रेडियोहरु, केवल टेलिभिजन र यस प्रदेशका १० जिल्लामा कार्यालय रही सञ्चालन हुने अनलाइनहरु मुस्किलले सञ्चालन भइरहेका छन् ।
सुर्खेतमा रहेका १२ वटा दैनिक पत्रिकाहरु बन्द रहेका छन् । युगआवान दैनिक पत्रिका, ५ वटा रेडियो, तीन वटा केवल टेलिभिजन र एक दर्जन बढी अनलाइन सञ्चालनमा छन् । जाजरकोट जिल्लाबाट प्रकाशित हुने भेरीमालिका दैनिक बन्द रहेको छ भने जिल्लामा सञ्चालित ३ वटा रेडियो र ७ वटा अनलाइन भने आंशिक रुपमा चलेका छन् ।
डोल्पाबाट प्रकाशित हुने हिमाली सुस्केरा साप्ताहिक बन्द रहेको छ भने जिल्लाका तीन वटा रेडियो र चार वटा अनलाइन सञ्चालन छन । जुम्लाबाट प्रकाशित हुने तीन वटा दैनिक पत्रिका (कर्णाली सरोकार, कर्णाली पोस्ट र माउण्टेन टुडे) बन्द रहेका छन् भने पाँच वटा रेडियो र अनलाइन सञ्चालनमा छन् । हुम्लाबाट प्रकाशित कर्णाली रैवार र सिमकोट साप्ताहिक पत्रिका बन्द रहेका छन् भने जिल्लाका तीन वटा रेडियो, तीन वटा अनलाइन सञ्चालनमा छन । सल्यान जिल्लाबाट प्रकाशित कुमाख दैनिक पत्रिका बन्द रहेको छ भने पाँच वटा रेडियो, एक दर्जन अनलाईन सञ्चालनमा नै रहेका छन् ।
रुकुमबाट प्रकाशित हुने दुई वटा साप्ताहिक आहा सञ्चार र रेखदेख पत्रिका बन्द रहेका छन् भने ९ वटा रेडियो सञ्चालनमा छन् । मुगुबाट प्रकाशत हुने २ वटा पत्रिका र एक रेडियो बन्द रहेका छन् भने तीन वटा रेडियो सञ्चालनमा छन् । दैलेख जिल्लाबाट प्रकाशन हुने तीन वटा दैनिक पत्रिका (धमाका, पञ्चकोशी खबर र हाम्रो तेस्रो आँखा) र तीनवटा साप्ताहिक पत्रिका बन्द रहेका छन् । दैलेखमा रेडियो भने सञ्चालनमा नै छन् । कालिकोटबाट सञ्चालित कर्णाली खबर दैनिक पत्रिका र अभिभारा साप्ताहिक पत्रिका बन्द रहेको छ भने जिल्लामा रहेका ८ वटा रेडियो भने सञ्चालनमा नै छन् ।
कर्णाली प्रदेशका सबै पत्रकारहरु लकडाउनको प्रभावमा परेका छन् । प्रेस पास हुँदा पनि प्रशासनले सहज आवतजावत गर्न नदिने समस्या, सवारी साधनको समस्या, मास्क, स्यानिटाइजर, ग्लप्स लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव झेल्नुपरेको छ । त्यसका वावजुत पनि कर्णाली प्रदेशका १० वटै जिल्लामा कार्यरत पत्रकारहरुले आआफ्नो क्षेत्रबाट रिपोर्टिङ गर्दै आएका छन् । यसबीचमा नेपाल पत्रकार महासंघ सुर्खेत सहित केही जिल्ला शाखाहरुद्वारा विभिन्न क्षेत्रको समन्वयमा पत्रकारहरुका लागि आवश्यक पर्ने मास्क, स्यानिटाइजर र पञ्जा लगायतका सामग्रीहरु थोरै संख्यामा वितरण गरिएको छ ।
लकडाउनमा पनि फिल्डमा कार्यरत सबै पत्रकारहरुलाई यी सामाग्रीहरु प्रयाप्त रुपमा वितरण गरिनु जरुरी छ । आमसञ्चारका माध्यमहरु विनाको आजको समाज अन्धकार खाडलमा रहन्छ । त्यसैले आमसञ्चारका माध्यम नागरिकका दृष्टि र आवाज हुन् । नागरिकलाई निरन्तर सुसूचित, जागरुक र सचेत बनाउने तथा राज्यका निकायलाई सतर्क गराउँदै जवाफदेही बनाउन मिडियाले भूमिका निर्वाह गर्दै आएका छन् । विविध सीमा र समस्याका वावजुद नेपाली मिडियाले सामाजिक अन्तरक्रिया तथा परिवर्तनको प्रवाहलाई गतिवान बनाउने काम गर्दै आएका छन् ।
नागरिक सचेत र बलिया नभईकन राज्य बलियो हुनसक्दैन । राज्यले नागरिकलाई सचेत, जागरुक र सक्रिय बनाउनका लागि सबैभन्दा पहिला मिडियाको विकासमा ध्यान दिनु जरुरी हुन्छ । मिडिया पुर्णतः व्यवसायिक, दक्ष र सबल नभइकन आफ्नो वास्तविक धर्म निर्वाह गर्न सक्दैनन । त्यसैले राज्यले निरन्तर मिडियाको विकासमा ध्यान दिनु जरुरी छ । विगतको भुकम्पको विपत, महामारी तथा अहिलेको लकडाउनका बेला नागरिकलाई सूचना सम्प्रेषण गरी अवस्थाको वास्तविक जानकारी दिने लगायतका काममा मिडियाले उल्लेखनीय काम गरेका छन् । राज्यलाई पारदर्शी, जिम्मेवार र सबल बनाउन मिडियाले सदैव एक असल पहरेदारको भूमिका निर्वाह गर्दछन् ।
समस्याहरुः
मिडियाहरु बन्द भएपछि मिडियाकर्मीहरुमा आर्थिक समस्या पर्दछ । उचित पारिश्रमिक नपाउने र भनेको समयमा पारिश्रमिक नपाउने गरेको नेपाली मिडिया क्षेत्रमा अब मिडिया नै बन्द भएपछि झन ठूलो समस्या देखिने निश्चित छ । त्यसको प्रभाव बहुआयामिक हुन्छ । त्यस्तै अब सञ्चारमाध्यमहरुको आम्दानी पनि ह्वात्तै घट्ने देखिन्छ । मिडियाहरुको आम्दानीको स्रोत विज्ञापन बजार हो । तर, सबै क्षेत्रहरु बन्द रहेका कारण विज्ञापनबाट हुने आम्दानी बन्द भएको छ । अहिलेसम्म सञ्चालनमा रहेका रेडियो र अनलाइनहरु पनि यही अवस्थामा लामो समय सञ्चालन भइरहनसक्ने अवस्थामा देखिदैनन ।
यस्तोबेला सबैभन्दा महत्वपूर्ण कुरा मिडियालाई बन्द हुन नदिई आफ्नो भूमिकामा उत्रने परिस्थिति निर्माण गर्नु हो । त्यसका लागि राज्यले जिम्मेवार मिडिया र मिडियाकर्मीका लागि विशेष सुविधा प्रदान गर्न हामी आग्रह गर्दछौ । आफ्नो स्वास्थ्य, परिवार र जीवनकै प्रवाह नगरी खट्ने पत्रकारहरुका लागि स्वास्थ्य उपचार, सञ्चारका साधनहरुको व्यवस्था तथा अन्य अनुदानका कार्यक्रम विकास गर्नका लागि सरकारसँग हामी आग्रह गर्दछौ । महामारीका बेला पनि नागरिकलाई समाचार सम्प्रेषणमा लागि परेका पत्रकारलाई आवतजावतका लागि सहज पासको व्यवस्था गर्न (सम्बन्धीत सञ्चार गृहको परिचयपत्रका आधारमा ) , उनीहरुका लागि मास्क, स्यानिटाइजर, पञ्जा तथा अन्य आवश्यक औषधीको व्यवस्था गर्न पनि हामी राज्यका निकायसँग माग गर्दछौ ।
यस्तो अवस्थामा सञ्चारमाध्यम श्रमजीवीहरुलाई पारिश्रमिक, घरभाडा, टेलिफोन, इन्टरनेट, विद्युत महशुल लगायतका अन्य खर्च समेत धान्न नसक्ने अवस्थामा रहने स्थिति छैन । त्यसका लागि टेलिफोन, विद्युत महशुल र इन्टरनेटमा विशेष सहुलियत प्रदान गर्न तथा महशुल छुट गर्न माग गर्दछौ । राष्ट्रिय तथा कतिपय स्थानीय मिडियामा कार्यरत पत्रकारहरु सदरमुकामहरुमा भाडामा बस्ने गरेका छन् । यस्तो अवस्थामा उनीहरुको घरभाडा मिनाहा गर्ने वातावरण तयार गर्न तथा आश्रित परिवारका लागि राहतका प्याकेज उपलब्ध गराउन पनि हामी सरकारसँग माग गर्दछौ ।
संकटकालीन स्थिति तथा यस्तै विपतमा सबैभन्दा बढी फेक न्यूजले ठूलो अफवाह फैलाउने र नागरिकमा त्रास उत्पन्न गर्ने स्थिति बन्दछ । त्यसैले हामी आम सञ्चारकर्मीहरुलाई हरेक सूचनाहरुलाई आफैले भेरिफाई गरेर मात्र प्रकाशन तथा प्रशारण गर्न आग्रह गर्दछौ । साथै महामारीले कसैलाई चिन्दैन । यस्तो बेला आफ्नो स्वास्थ्यको पूर्ण सुरक्षाको ख्याल गरी आफू सुरक्षित रहेर पत्रकारिताको धर्म निर्वाह गर्न पनि सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्दछौ ।



Milan Shrestha । ३ बैशाख २०७७, बुधबार १६:३४ बजे