सुर्खेतमा अलपत्र परि बसेका दैलेखका ४४ जनालाई उद्दार गरि पठाईयो ।


मिलन श्रेष्ठ
सुर्खेत,१० बैशाख । दैलेखबाट पढाइको सिलसिलामा सुर्खेतमा बस्दै आएका र उपचारका लागि आएर सुर्खेतमा अलपत्र परेका ४४ जनालाई उद्धार गरिएको छ।

लकडाउनका कारण अलपत्र परेका उनीहरुलाई स्थानीय युवा प्रकाश ढकाल, गणेश रोकाय र खगेन्द्र रोकायको पहलमा उद्धार गरिएको हो। सुर्खेतमा रहेका ४४ जनालाई ना.५.ख ६३६१ नम्बरको बसबाट बुधबार(आज) उद्धार गरि दैलेख पठाइएको छ ।

यस अघि नै काठमाडौंबाट आई अलपत्र परि बसेका डोल्पाका ४ जनालाई उद्धार गरी पठाइसकिएको र तीन जनालाई पठाउने तयारी भइरहेको ढकालले बताउनु भयो ।
यस्तै जिल्ला प्रशासन कार्यालय दैलेखले काठमाडौं लगायत विभिन्न बाहिरी जिल्लाहरुमा अलपत्र परेका २ सयभन्दा बढी दैलेखका नागरिकको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षत्रीले बताउनु भयो । प्रशासनले स्थानीय सरकारलाई बाहिर अलपत्र परेका नागरिकको उद्धार गर्न भनेको र स्थानीय तहहरुले पनि बाहिरी जिल्लामा अलपत्र परेका आफ्ना नागरिकको उद्धार गर्ने काम गरिरहेको समेत क्षत्रीले जानकारी दिनु भयो ।