उत्पादनमा जोडियो विश्वविद्यालय, पहिलो चरणमा स्यानिटाइजर उत्पादन


अहिले विश्वविद्यालयले करिब १ खाख लगानी गरेर स्यानीटाईजर उत्पादन गरिरहेको उपकुलपति प्रा.डा. सिंहले बताउनुभयो । ‘आम नागरिकलाई त्रसित बनाइरहेको कोरोना विरुद्ध लड्न स्यानीटाईजरमा आम नागरिकको सहज पहुँच अभाव देख्यौं ।’ उहाँले भन्नुभयो, ‘त्यहि अभावलाई पूर्ति गर्न र विश्वविद्यालयलाई उत्पादनसँग जोडनकालागि हामीले उत्पादन सुरु गरेका हौं । व्यवस्थापन संकायले व्यवस्थापन गर्ने र विज्ञान तथा प्रविधि संकायले उत्पादन गर्ने योजना अनुसार थप कार्ययोजना बनाई अघि बढछौं ।’

प्रा.डा. सिंहले अहिले सेमी मेसिनबाट दैनिक रुपमा ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको बताउँदै निकट भविष्यमा आइएसओ सर्टिफाईड गर्ने र बजारमा पठाउने बताउनुभयो । यसकालागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग थप सहकार्य भइरहेको उनको भनाई थियो ।

विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन सँग जोडन अनिवार्य रहेको बताउँदै कर्णाली समृद्धिको आधारको रुपमा विश्वविद्यालय बनाउन खोजेको प्रा. डा. सिंहको भनाई थियो । ‘विगतमा सर्टिफिकेट प्रदान गर्ने मात्रै विश्वविद्यालय बनाइयो ।’ उहाँले भन्नुभयो, ‘अब आत्मनिर्भर बन्नकालागि आवश्यक पर्ने सीप प्राप्त जनशक्ति निर्माण गर्नेछौं । त्यसैको पहिलो चरणको रुपमा स्यानीटाईजर उत्पादन हो ।’ उहाँका अनुसार यसपछि थेसिस गर्ने विद्यार्थीहरुले उत्पादनका विषयमा गर्ने गरी अघि बढिने जानकारी दिनुभयो ।

महासंघलाई स्यानीटाईजर प्रदान

यसैबीच, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सिंहले नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई तीस थान स्यानीटाईजर प्रदान गर्नुभएको छ । महासंघका अध्यक्ष गणेशकञ्चन भारतीले विश्वविद्यालयले स्यानीटाईजर उत्पादन गर्नु ऐतिहासिक भएको बताउनुभयो । ‘विश्वविद्यालयले राम्रो कामको सुरुवात गरेको छ । आगामी दिनमा कर्णालीकै बस्तुको प्रयोग गरेरनयाँ नयाँ आविष्कार गर्न विश्वविद्यालय सफल होस ।’ अध्यक्ष भारतीले भन्नुभयो, ‘कर्णालीलाई उत्पादन मूलक शिक्षाको थलो बनाउन विश्वविद्यालय सफल हुने अपेक्षा छ । महासंघलाई यहाँहरुको उत्पादन दिएर सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद छ ।’