बाँके नेपालगंजमा कानुनको उल्लङ्घन गर्दै धमाधम बाटो बन्द


२२ बैशाख, बाँके । नेपालगन्जमा कोरोना भाइरस संक्रमित फेला नपरुन्जेल गैरजिम्मेवार बनेका नेपालगन्जियाको आँखा तब खुल्यो जब नेपालगन्जमा ६० वर्षका एक बृद्धलाई कोरोना भयो ।

देशमै कोरोना भाइरस देखिएको करिब चारमहिना बढिको अवधिसम्म बेप्रवाह, गैरजिम्मेवाररुपले लकडाउन र सामाजिक दूरी हटाउनुपर्छ भन्दै विना काम सडकमा हिड्ने, भीडभाड गराउने नेपालगन्जियालाई शुक्रबार भेटिएको कोरोना संक्रमित भन्दा पनि आईतबार एकैपटक १५ जना संक्रमित भेटिदाँ होस् नै गुम्यो ।

यो घटनाले यतिबेला नेपालगन्जिया त्रासमा छन् । भने उत्तिकै मात्रामा अझपनि लकडाउन र सामाजिक दूरीको पूर्ण पालना गरेका छैनन् । तर, पनि कोरोनाका बिरामी एकाएक थपिँदै गएपछि त्रसित बनेको सर्वसाधारणले आफूखुसी सडक बन्द गर्ने कार्यलाई तिव्रता दिएकाछन् ।

यसअघि कोरोना भाइरस संक्रमणको नेपालगन्जमा सम्भावित क्षेत्रको पहिचान गरी प्रशासनले चार ठाउँमा सिल गरेको छ । ती क्षेत्रका सर्वसाधारणलाई बाहिर निस्कन नदिने र बाहिरका व्यक्तिलाई उक्त क्षेत्रमा जान नपाइने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाँके प्रशासनले हिँड्डुलमा कडाई गरेकै बेला नेपालगन्जका सर्वसाधारणले बाहिरबाट आउनेलाई प्रवेश निषेध गरेका छन् । आ–आफ्नो टोलको मुख्य प्रवेशद्वारमा डोरी, बाँसको बार तथा ब्यानर नै टाँगेर प्रवेशमा रोक लगाएका छन् । उनीहरुले टोलटोलमा तरकारी, फलफूल, दूध बिक्री गर्न आउनेले कोरोना सार्ने डरका कारण प्रवेशद्वारमा डोरी र तारको बार लगाएको बताउछन् ।

यतिबेला नेपालगन्जका लगभग सवै टोल, वस्ती र गलीमा यस्ता बार र अबरोध खडा गरिएकोछ । अझ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा त स्वयसेवक नै खटाएर वडामा प्रवेश रोक लगाएकाछन् जो अत्याधिक रुपमा जोखिमपूर्ण कार्य हो ।

नेपालगन्जमा कोरोना संक्रमित भेटिएपछि नेपालगन्ज मात्र नभइ बाँकेका आठवटै पालिका तहमा आफूखुसी सडक बन्द गर्ने कार्य भएकोछ । प्रशासनले निश्चित ठाउँलाई सिल गरे पनि जनप्रतिनिधिले स्थानीय तह र वडालाई सिल गरेर आफ्ना मतदाता सुरक्षित बनाउने अभियानमा लागेका छन् ।

नेपालगन्जमा कोरोनाका संक्रमित बढ्दै गएपछि खजुरा गाउँपालिकाले सोमवारदेखि आफ्नो चार वटै किल्लाबाट आवतजावत हुन नपाउने गरि सिल गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले दक्षिणतर्फको भारतबाट आउने सडक, पश्चिममा मानखोला, उत्तरमा बैजनाथ गाउँपालिकाबाट आउने सडक र पूर्वतर्फ नेपालगन्ज–गुलरिया सडक खण्डको कपास विकास समितिको पुलबाट गाउँपालिकालाई सिल गरिएको बताए ।

कोहलपुर नगरपालिकाले पनि चारैतिरको नाका सिलगरिएकोछ । मेयर लुटबहादुर रावतले कोरोनाबाट जोगाउन पहिलदेखि नै नगरभित्र प्रवेशमा कडाई गरिएको बताउँदै अब पूर्ण रुपमा निषेध गरिएको बताए । कोहलपुरले यसअघि नै आफ्नो सीमाना हवलदारपुरमा बेरियल लगाएर प्रवेशमा कडाई गरेको छ । कोहलपुरमा रत्न राजमार्ग र महेन्द्र राजमार्ग पर्ने भएकोले आउजाउ रोक्न समस्या छ ।

यस्तै जानकी गाउँपालिका–६, पिप्रहवा गाउँको प्रवेशद्वारमा डोरीको बार लगाइएको छ । ‘गाउँभन्दा बाहिरको मान्छे गाउँभित्र आउन सख्त मनाही छ,’ बोर्डमा लेखिएको छ ।

यसरी आफूखुसी सडक नै बन्द गर्ने कार्य कानून विपरितको कार्य हो । सडकमा आफूखुशी तारबार लगाउने, बाटो बन्द गर्ने जस्ता कार्यले कोरोना भाइरसको जोखिमबाट बच्न सकिन्छ भन्ने आम नागरिकको बुझाई छ । तर, कोरोना भाइरसको जोखिममा गरिएका बाटो बन्दले आम नागरिकले सास्ती भोग्नुपरेकोछ ।

एकातिर निश्चित क्षेत्रमा कोरोना भाइरस संक्रमण रोक्न गरिएका यस्ता कार्यले विकराल स्वरुप लिइरहेकोछ । विशेष गरि कामकाजी स्थानीय, औषधी उपचार एवं अत्यावश्यक सामान ल्याउन र लैजान समस्या मात्र नभइ ठूलो रुपपनि लिने गर्दछ ।

बाँकेको विभिन्न पालिकामा आफूखुशी बाटो बन्द गर्ने गरेको पाइएकोछ । बाँकेमा मात्र नभई यतिबेला देशभर आफूखुशी बाटो बन्द गर्ने काम भएको छ र यो कार्य निरन्तर बढेर आएकोछ ।

यसरी बाटो बन्द गर्नु कानूनी रुपमा मात्र नभई ब्यक्तिको मौलिक हकको उल्लङ्घन हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार कुनैपनि ब्यक्ति, समुदायले आफूखुशी बाटो बन्द गर्न नपाइने बताउँछन् । आमनागरिकलाई नै समस्यामा पार्दै गरिने बाटो बन्द गर्नु अपराध हुने उनी बताउँछन् ।