
२८ वैशाख जुम्ला । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम अभियान अन्तरगत खोजेर जाँच्ने कामलाई तिब्रता दिएको छ ।
सरकारले पछिल्लो समयमा वाहिरबाट आएकाबाट जोखिम बढ्न सक्ने भन्दै स्वाव संकलनलाई तिब्रता दिने बिषयमा प्रथमिकता दिने भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल सहितको टोली जुम्ला पुगेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।
प्रतिष्ठानले जुम्लामा आयोजना गरेको अन्तरक्रियामा जुम्ला पुग्नु भएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वास्थ्यकर्मीहरुलाई उच्च मनोवलका साथ काम गर्न उत्प्रेरणा दिदै सरकारको तयारीका बिषयमा जानकारी गर्नुभएको हो । उहाँका अनुसार कर्णालीका ७ सय १८ वडाका १०/१० जनालाई नमूनाका रुपमा जाँच गर्ने अभियानका साथ अभियान तिब्र पारिएको जानकारी दिनुभयो । मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई पहिला आफु सुरक्षित भएर मात्रै काम गर्नुहोस, साहसका साथ काम गर्नुहोस प्रदेश सरकारले कुनैवेला तपाईहरुको बहादुरीको कदर गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले ७५ लाख रुपैया कर्णाली प्रतिष्ठानलाई थपिएको जानकारी दिँदै यस अघि १ करोड रुपैयाँ प्रदेश सरकारले प्रतिष्ठानलाई उपलब्ध गराइसके बताउनुभयो ।
त्यस्तै प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशका २७ स्थानमा चिकित्सक सहितको टोली खटाएर स्वाब संकलन गर्ने र साविक कर्णालीको कर्णाली प्रतिष्ठानमा र अन्य जिल्लाको प्रदेश र चौरजहारी सामुदायिक अस्पतालमा जाँच गरिने जानकारी दिनुभयो ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले सरकारले दिएको जिम्मेवारी अहिले संकटको वेला प्रतिष्ठानले डटेर गरिरहेको, डाक्टर र एमडिजिपी पढाई भएमा कर्णाली मात्रै नभई मुलुकलाईनै सेवा दिने जनशक्ति प्रतिष्ठानले दिन सक्ने बताउनुभयो ।
प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले हाल सम्म प्रतिष्ठानले कोभिड १९ (कोरोना भाईरस) रोकथामका लागि गरिरहेका कामको बिषयमा जानकारी गर्नुभएको थियो ।

प्रतिष्ठानले खटायो चिकित्सक
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सक टोली सहितको स्वास्थ्यकर्मीको टोली खटाएको छ । हुम्लामा आजै ८ जना हुम्लाको सर्केघाट, ताजाकोट, अदानचुलीमा ८ जनाको टोली हेलिकोप्टर मार्फत पठाएको छ ।
यसैगरी जुम्लाका सवै स्थानीय तहमा डाक्टर सहितको टोली खटाउनुका साथै मुगुमा पनि हेलिकोप्टर मार्फत टोली खटाएको छ । जुम्लाबाट चिकित्सकको टोली सँगै सामाजिक विकास मन्त्री दल रावल हुम्ला पुग्नु भएको छ ।
यसैगरी मुख्यमन्त्री शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पिसिआर प्रयोगशाला, आईसियू कक्ष र आईसोलेसन वेडहरु सहित पूर्वाधारको अनुगमन पनि गर्नुभएको छ ।



Prawash Kumar Shakya । २८ बैशाख २०७७, आईतवार १६:५८ बजे