
१४ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को महामारी यतिवेला कर्णाली प्रदेशमा उच्च जोखिम रहेको जनाउँदै स्थानीय सरकारले विभिन्न स्थानमा क्वारेन्टाइन बनाउन थालिएको छ ।
यसैविषयमा आज वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालयले वडामा क्वारेन्टाइन बनाउनकालागि छलफल गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले ६४ वटा सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाउने योजना अनुसार ९ नं वडामा रहेका सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाउनकालागि छलफल चलाइएको हो ।
वीरन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धरले नगरपालिकाले अनुरोध गरे अनुसार क्वारेन्टाइनकालागि बिस्तारा, झुल लगायतका लजेस्टिक सामानहरु कुनै पनि व्यक्ति वा संघ संस्थाले प्रदान गर्न चाहेमा स्वीकार गर्ने बताउँदै मुख्य चुनौती क्वारेन्टाइनको सुरक्षामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो “क्वारेन्टाइनको सुरक्षाकालागि पालिकाद्वारा सुरक्षानिकाय संग छलफल भैरहेको छ “
अहिलेकालागि हामीले वडामा रहेको ३ वटा सामुदायिक विद्यालयहरु शिव माध्यमिक विद्यालय (लाटिकोइली), कोपिला माध्यमिक विद्यालय (पर्सेनी) र नेराआवि (चाँदनी चौकी) को मापदण्ड मापन गरि क्वारेन्टाइन बनाउने छौं साथै वडामा रहेका निजि विद्यालयहरुलाई पनि आवश्यकता अनुसार परिचालन गर्नकालागि निजि विद्यालयहरुलाई पनि अनुरोध गरेका छौं । वडा अध्यक्ष मानन्धरले भन्नुभयो ।
सामाजिक दुरी कायम गरि सम्पन्न छलफल कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यन्याधिवक्ता विद्याभूषण मानन्धर, समाजसेवीहरु डम्मरविक्रम जिसी, भूषण मानन्धर, गणेश वली र ऋषी गिरी लगाएतले आआफ्नो धारणा राख्नुभएको थियो ।



Prawash Kumar Shakya । १४ जेष्ठ २०७७, बुधबार ११:१६ बजे