मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त


२८ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटमा भएको सडक दुर्घटना प्रति शो व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले कोभिड–१९ को महामारीकै क्रममा वाँकेमा भएको दुर्घटनाको पिडा सकिन नपाउदै आज विहान कालिकोट जिल्ला सान्नीत्रिवेणी गाउँपालिका वडा नं. १ मा भएको सडक दुर्घटनाप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ ।

कोभिड–१९ले निम्त्याएको समस्याका कारण विभिन्न ठाउँबाट घर फर्किने क्रममा लालीघाटबाट रास्कोट जाँदै गरेको ३९ जना सवार टिप्पर दुर्घटना हुँदा अहिलेसम्म २ जनाको दुखद निधन भएको, ६ जना वेपत्ता रहेको, ४ जना गम्भीर घाईते रहेको र २७ जना सकुशल सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा भएको उक्त दुर्घटनावाट भएको मानवीय क्षतिप्रति मुख्यमन्त्री शाही  निकै स्तव्ध भएको वक्तव्यमा उल्लेख छ ।

मुख्यमन्त्री शाहीले उक्त दुर्घटनामा निधन हुनुभएका सवैप्रति भावपुर्ण श्रद्धाञ्जली एवं शोकमा रहनुभएका परिवारजनप्रति धैर्य गर्न आग्रह गर्दै गहिरो समवेदना व्यक्त गर्नुभएको छ । दुर्घटनाका कारण सम्वन्धित घरपरिवारमा पर्नगएको पिडाप्रतिसहानुभुति प्रकट गर्नुको साथै दुर्घटनामा परि घाईते हुनुभएका सवैको सिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

शोक वक्तव्यमा अकल्पनीय र पिडादायी दुर्घटनामा घाईतेहरुको उपचारको लागि हेलीकोप्टर मार्फत उद्धार गर्न र वेपत्ताहरुको खोजीकार्यको लागि आवश्यक व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन भईसकेको र घाईतेहरुको प्रभावकारी उपचार व्यवस्था मिलाईने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । दुर्घटनाको खवर पाउने वित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि एवं सुचना संप्रेशन गर्ने संचारकर्मीहरुलाई मुख्यमन्त्रीले धन्यवाद व्यक्त गर्नुभएको छ ।