बाँकेमा निषेधाज्ञाको समय थप


बाँकेमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरमा बन्द अवस्थामा रहेको होटल ह्वाइट हाउसलाई ‘आइसोलेशन सेन्टर’ बनाउइने भएको छ ।

बाँके जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले थप आइसोलेशन सेन्टरको आवश्यक्ताअनुसार बन्द रहेको होटेललाई ‘आइसोलेशन सेन्टर’ बनाउने निर्णय गरेको हो ।

अहिले कोरोना संक्रमणको जोखिम बढेपछि जनस्वास्थ्यको निर्देशनमा बाँकेका स्थानीय तहहरुले पुनः क्वारेन्टिन निर्माण गर्न थालेका छन् । खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक बढेको छ ।

आइसोलेशनको क्षमता कम भएकाले संक्रमित विरामीको व्यवस्थापनमा समस्या देखिएपछि बन्द रहेको होटेललाई ‘आइसोलेशन सेन्टर’ बनाउने निर्णय गरिएको बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेसँगै बढाइएको कोरोना भाइरस परीक्षणका क्रममा बाँकेमा संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारी कार्यालयमै संक्रमणको दर उच्च देखिएसँगै सरकारी कार्यालयमा संक्रमण देखिएसँगै अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएका छन् । कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ ।

जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । पछिल्लो समयमा बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै सतर्क रहन सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले आग्रह गरिरहेका छन् । थप एक आइसोलेशन सेन्टरको आवश्यक्ता भएकाले ह्वाइट हाउसमा संक्रमितहरूलाई व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुरूम्वाङ बताउँनुहुन्छ ।

ईलाका कोहलपुर र वडा प्रहरी नेपालगन्ज पनि सील

यसैवीच बाँकेको कोहलपुरस्थित ईलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्ज सील गरिएको छ । प्रहरी कार्यालयमा रहेका एक थुनुवामा कोरोना पुष्टि भएपछि कार्यालय शील गरिएको कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिनुभयो । अत्यावश्यकीय कामका लागि जिल्ला प्रहरी कार्यालयबाट कोहलपुरमा मोवाइल टोली परिचालन गरिएको छ ।

प्रहरी नायब उपरीक्षक चन्दका अनुसार थुनुवामा कोरोना देखिए पनि अन्य प्रहरी कर्मचारीलाई जनसम्पर्कबाट टाढा राखिएको छ भने कार्यालयमा ओहोरदोहोर पूर्णरुपमा बन्द गरिएको छ । साथै थुनुवामा संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी र थुनुवाहरुको पिसिआर परीक्षण भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।

वडा प्रहरी कार्यालय नेपालगन्जमा ६ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि मङगलबार बेलुका वडा प्रहरी कार्यालय सील गरिएको वडा प्रहरी ईन्चार्ज प्रहरी निरीक्षक हरी बस्नेत जानकारीदिनुभयो । उहाँका अनुसार मङ्गलबार मात्र ७ जनाको स्वाब परीक्षण गरिएको थियो ।

यसअघि सोमबार नेपालगन्ज उपमहनागरपालिका शील गरिएको थियो । कोरोना संक्रमण बढेसँगै बाँकेका सरकारी कार्यालय शील हुने क्रमपनि बढेको छ ।

त्यस्तै बाँकेमा कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा बढाइएको छ । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले आगामी शनिबारसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो ।

समुदाय स्तरमै कोरोना पोजेटिभ केस बढ्दै गएपछि जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको आज बसेको बैठकले आईतबारदेखि जारी निषेधाज्ञा आगामी शनिबार रातीसम्म जारी रहने प्रजिअ कुरुम्वाङ्गले बताउनुभयो ।