कर्णालीको दिगो विकास लक्ष्य तथ्याङ्क प्रतिवेदन सार्वजनिक


९ असोज, सुर्खेत । कर्णाली प्रदेशको दिगो विकास लक्ष्यहरुको आधार तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र सयूंक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका आवासीय प्रतिनिधि आयसानी लाबेले सयूक्तरुपमा भर्चुअल कार्यक्रम मार्फत सार्वजनिक गर्नुभएको हो ।

भर्चुअल कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णालीको समस्या तथ्याङ्कमा रहेको र त्यस अनुसार पुर्वाधार, उर्जा, वस्ती विकास, सिचाइ, खानेपानीमा कर्णाली सरकार केन्द्रित हुनुपरेको बताउनुभयो । कोरोना भाइरस कोभिड १९ का कारण हाल स्वास्थ्यमा केन्द्रित भएको र आउदा दिनहरुमा शिक्षा ,स्वास्थ्य, रोजगारी र त्यसका लागि पुर्वाधारमा केन्द्रित हुने मुख्यमन्त्रि शाहीले भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले दिगो विकास तथ्याङ्क सार्वजनिक गर्ने कर्णाली तेस्रो प्रदेश भएको बताउदै यस्तो कार्य स्थानीय तहहरुमा पनि गर्नुपर्नेमा जोड दिनुभयो । उपाध्यक्ष प्रा.डा. कडेलले कर्णालीको यो प्रतिवेदनले कुन पक्षलाई जोडदिनु पर्नेछ भन्ने कुरा स्पष्ट पारेको बताउनुभयो ।

कर्णाली विशेषको सन्दर्भ, मापनको आधार र दिगो विकास लक्ष्यका विशेषताहरु प्रतिवेदनमा समेटिएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुण्यप्रसाद रेग्मीले जानकारी दिनुभयो । उपाध्यक्ष रेग्मीका अनुसार प्रतिवेदनमा कर्णाली प्रदेशमा दिगो विकासका लक्ष्य सुचांङ्कको आधार, तथ्याङ्क अवस्था, तथ्याङ्कको उपलब्धता, कार्यान्वयन र नितिगत दिशा सम्बन्धी विषयहरु रहेका छन ।

त्यस्तै कर्णाली प्रदेश योजना आयोगका सदस्य डाक्टर दिपेन्द्र रोकायाले दिगो विकास लक्ष्यको आन्तरिकरण र स्थानीयकरण गर्ने प्रदेश योजना आयोगको योजना रहेको बताउनुभयो । उहाँका अनुसार प्रतिवेदनमा पहिचान, सयन्त्र लगानी र सस्थाहरु कस्ता छन भन्नेवारे अध्ययन गरिएको छ । युएनडिपिको सहयोगमा प्रतिवेदनको अध्ययन तथा प्रकाशित गरिएको हो ।