मुख्यमन्त्री शाहीद्वारा दशैंको शुभकामना व्यक्त


१० कार्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशवासीहरुमा वडादशैं २०७७ को शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो । विज्ञप्तीमा मुख्यमन्त्री शाहीले नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठ पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली प्रदेशवासी तथा समस्त नेपाली दिदीबहिनी, दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना गर्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसाँस्कृतिक विशेषतासहितको नेपाली समाजमा यी मौलिक चाडपर्वहरुले सामाजिक सद्भाव, एकता र भातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् । यो वर्ष सिंगो विश्व समुदायसँगै हामी पनि कोरोना भाइरस (कोभिड–१९)को संकटसँग लडिरहेका छौं । यसको नियन्त्रण तथा रोकथामका लागि सरकारसँगै सरोकारवाला निकायहरुले गरिरहेका प्रयासहरुका बावजुद संक्रमण फैलदो क्रममा रहेको छ । चाडवाड तथा मेलापर्वहरुमा हुने जमघटले संक्रमणको जोखिम बढ्ने भएकोले आ–आफ्नो परिवारमा सीमित रही घरमै बसेर चाडवाड मनाउन हार्दिक अनुरोध गर्दछु । कोभिड–१९ को यो महामारीलाई जितेपछि आगामी वर्ष बडा दशैं लगायतका पर्वहरु भव्य र उल्लासमय रुपमा मनाउने नै छौं । विज्ञप्तीमा उल्लेख छ ।