प्रदेशभर क्वारेन्टिन हटाइने, आइसोलेशन थपिने


२० कार्तिक, सुर्खेत । कर्णाली प्रदेशमा भएका क्वारेन्टिनहरु हटाइ प्रदेशका सबै जिल्लाहरुमा ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेकोछ ।

बुधवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको जनसंख्या तथा कोरोना संक्रमितको संक्रमणको आधारमा प्रदेशका प्रत्येक जिल्लाहरुमा २५ देखि ५० बेडसम्मको आइसोलेसन थप गर्ने निर्णय गरेको हो ।

बैठकले हटाइएका क्वारेन्टिनका सबै सामान आवश्यकता अनुसार आगामी दिनमा प्रयोग गर्न मिल्ने गरी नेपाली सेनालाई जिम्मा दिने निर्णय पनि गरेकाे छ ।

प्रदेशभर देउसी भैलो खेल्न रोक

कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै प्रदेश विपद व्यवस्थापनको बैठकले तिहारको अवसरमा खेलिँदै आएको देउसी भैलो खेल्नमा प्रदेशभर रोक लगाएको छ ।

बैठकले कोभिड-१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्दै देउसी भैलो खेल्न निषेध गरेको हो । देउसी भैलो खेल्न नदिन पूर्णरुपमा कडाइ गर्ने र कुनै पनि मेला लगाउन नदिने बताइएको छ । साथै बैठकले तिहारमा सुरक्षा सर्तकता अपनाई घरभित्रै बसेर टीका लगाउन आग्रह समेत गरेको छ ।