नेवारी समुदायका महिलाहरुकालागि परम्परागत परिकारहरु बनाउने तालिम शुरु


१ पौष, सुर्खेत । वीरेन्द्रनगरको लाटीकोइलीमा आज देखि १५ दिने विभिन्न खाले नेवारी परिकारका रोटीहरु बनाउने तालिम शुरु भएको छ ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको आयोजना तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको समन्वय एवम् सहकार्यमा नेवार समुदायका महिलाहरुकोलागि परम्परागत विभिन्न खाले नेवारी परिकारका रोटीहरु बनाउने तालिम शुरु भएको हो ।

तालिमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथी वीरेन्द्रनगर नगरपालिका ९ न‌ं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरले महिलाहरुको शिप विकास गर्नकालागि आफ्नो वडा संधै तयार रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीर बहादुर रावत भोटेले जनजातिहरुका विभिन्न जातजातिहरुले परम्परागत होमस्टे चलाएको बताउँदै अब नेवार महिलाहरु पनि आफ्नो परम्पराको परिकारहरु पस्कदै नेवार होमस्टे सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालयका शिक्षा निर्देशक दिपा हमालले सबै जातजातिले आफ्नो परम्परागत परिकारहरु बनाउन जान्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “परम्परागत परिकारहरुको स्वाद दिँदै होमस्टे सञ्चालन गर्नसके सफल महिला उद्यमी बन्न सकिन्छ ।”

तालिममा नेवारी परिकार विभिन्न खाले रोटीहरु (सेल, फिनी, योमरी, चटामरी, अनर्सा) लगाएतका रोटी तथा हातले खुटेका विभिन्न दुना टपरी पनि बनाउन सिकाइने प्रशिक्षक नेवा मिसा दबुका अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिनुभयो ।

शिक्षा विकास निर्देशनालयका विना थापाले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण नेवा देय् दबुका सचिव बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।