सीमा विवाद अन्त्य गर्न प्राविधिक टोली थप्ने नेपालको प्रस्ताव
३ चैत, नयाँदिल्ली । नेपालले भारतसामू सीमा विवाद अन्त्यका लागि गृहकार्य गर्दै आएको प्राविधिक टोली थप गर्ने प्रस्ताव गरेको छ ।
भारत भ्रमणमा रहेका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग बिहीबार भएको भेटमा दुई प्राविधिक टोली थप्ने प्रस्ताव गरेका हुन् ।
नेपाल-भारत सीमा विवादका सम्बन्धमा ३ वटा संयुक्त प्राविधिक टिमले विगत ३ बर्षदेखि काम गर्दै आएको छ ।
जवाफमा भारतीय गृहमन्त्री सिंहले प्राविधिक टिम थप्न भारतीय पक्ष सकारात्मक भएको प्रतिकृया दिएको गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
नेपाल र भारतका गृहमन्त्रीबीच सुरक्षा क्षेत्रमा विद्यमान सहयोगलाई निरन्तरता दिने र आगामी दिनमा त्यसलाई थप सुदृढ बनाउने बिषयमा छलफल भएको थियो ।
‘कञ्चनपुर गोलीकाण्ड अपसोचपूर्ण’
नर्थ ब्लकस्थित गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे सिंहको ध्यानाकर्षण गराएका छन् ।
जवाफमा भारतीय गृहमन्त्री सिंहले सो घटनालाई अपसोचपूर्ण घटना भन्दै त्यसप्रति दुःख व्यक्त गरेका छन् ।
चुनावमा लजिस्टिक सपोर्ट गर्न आग्रह
भारतीय समकक्षी सिंहसँगको भेटमा गृहमन्त्री निधिले आगामी निर्वाचनमा पनि सहयोगका लागि आग्रह गरेका छन् ।
संविधानसभा चुनावमा भारतीय पक्षले गृहमन्त्रालय र निर्बाचन आयोगलाई आवश्यक पर्ने लजिस्टिक सपोर्ट गरेकोमा आभार व्यक्त गर्दै निधिले स्थानीय चुनावमा सहयोगका लागि आग्रह गरेका हुन् ।
भारतीय समकक्षी सिंहले लजिस्टिक सपोर्ट गर्ने बिषयलाई सकारात्मक रुपमा लिएको निधीको निजी सचिवालयले जनाएको छ ।
भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।
प्रति आतंकवाद सम्बन्धी तेस्रो अन्तर्राष्टिय सम्मेलनमा भाग लिन तीन दिनअघि नयाँ दिल्ली पुगेका गृहमन्त्री निधिले आजै अपरान्ह भारतीय बिदेशमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।



Prawash Kumar Shakya । ३ चैत्र २०७३, बिहीबार ०९:४२ बजे