अशोक राजी
०७ साउन, सुर्खेत । अविरल वर्षा सँगै आएको पहिरोले सुर्खेत–जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । ४ दिन अघि कालिकोटको भर्ता–६ मा झरेको पहिरो हटाउन नसक्दा राजमार्ग अझै सुचारु हुन नसकेको हो । सुर्खेत–कालीकोट सडक खण्डको भर्ताको एसमोडमा ठुलो पहिरो झरेको क्षेत्रीय प्रहरी कार्यालयका डिएसपी दिवाकर सिंहले जानकारी दिनुभयो ।
नेपाली सेना, नेपाल प्रहरी, स्थानीयबासी र डोजरले पहिरो हटाउने प्रयास गरेपनि सफल नभएको उहाँको भनाई छ । सेनाले सडकमा झरेका ठुला ढुंगामा विस्फोट समेत गरिरहेको उहाँले जानकारी दिनुनभयो । तर पहिरो हटाउन नसकिएको उनले उल्लेख गरे ।
उनका अनुसार सुर्खेतबाट कालीकोट, जुम्ला छुटेका यात्रुबाहक बसहरुले एसमोडसम्म यात्रु छाडेर फर्कने गरेका छन् । तर खाद्यन्न ढुवानी भने पूर्ण रुपमा ठप्प रहेको छ । भोलीसम्म पहिरो हटाउने गरी लागिरहेको को प्रहरीको भनाई छ । यता, सल्यान–रुकुम सडक खण्ड पनि अवरुद्ध भएको छ । निरन्तर वर्षाले ठाउँ–ठाउँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको प्रहरीको भनाई छ ।



Prawash Kumar Shakya । ७ श्रावण २०७३, शुक्रबार १०:१० बजे