प्रदेश आन्दोलनका जिउँदो शहिद महतरा सम्मानित (भिडियोसहित)


२२ मंसीर, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालयले प्रदेश आन्दोलनका जिउँदो शहिद ९ नं वडा निवासी बलबहादुर महतरालाई सम्मान गरेको छ । देश संघियतामा गएपछि सुर्खेत जिल्लालाई अन्य प्रदेशमा गाभ्ने निर्णय भएसंगै सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश प्राप्तकालागि भएको आन्दोलनमा २०७३ साउन २६ सुरक्षाकर्मीको गोली लागि महतरा घाइते हुनुभएको थियो ।

आजदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरेको ९ नं वडाले भवन शुभारम्भको अवसरमा प्रदेश आन्दोलनका जिउँदो शहिद महतरा र वडाका स्थायीवासी रत्नाखर गौतमलाई स्वर्ण बर्ष (१०० बर्ष) पुगेकोमा सम्मान गरेको हो ।

करिव ५ बर्षमा निर्माण सम्पन्न भएको नवनिर्मित वडा भवनको उद्घाटन एक समारोहका वीच वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख देव कुमार सुबेदीले गर्नुभएको हो ।

भवन उद्घाटन गर्दै नगरप्रमुख सुबेदीले यो वडालाई नगरपालिकाको मात्र नभएर समग्र कर्णालीको पहिचानको रुपमा अगाडी बढाउन सकिन्छ भनेर यो वडामा विभिन्न शिर्षकमा बजेट छुट्याइएको छ त्यसको नतिजा आउन बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो “अब यही महिनाबाट नै मंगलगढी लाटीकोइली सडकको स्तरन्नोती हुने बताउनुभयो ।”

त्यस्तै नगरउपप्रमुख मोहनमाया ढकालले निर्वाचित जनप्रतिनिधीहरु आइसकेपछि विकासमा के परिवर्तन भयो? सुसासनमा के परिवर्तन भयो? पारदर्शितामा के परिवर्तन भयो? र जवाफदेहीमा के परिवर्तन भयो? भन्ने जनताका जिज्ञासाहरुलाई विस्तारै विस्तारै पुरा गर्दै गएको अनुभुति गरेको बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका दिपेन्द्र सुबेदीले सहजीकरण गर्नुभएको कार्यक्रममा ९ नं. वडाका वडा अध्यक्ष सुरेश मानन्धरको सभापतित्वमा सम्पन्न थियो । कार्यक्रममा समाजसेवीहरु डम्मर विक्रम जिसी, भूषण मानन्धर गणेशबहादुर वली, ऋषी गिरी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

https://youtu.be/jwUl_XYDoUc