
सुर्खेत, ८ साउन । नेपाल खाद्य संस्थानले सुर्खेतमा सहुलियत मूल्यमा अभियानमुखि चामल विक्री गर्न लागेको जनाएको छ । स्थानीयले सहुलियत मूल्यमा गुणस्तरीय चामल पाउनु पर्ने माग राखेपछि संस्थानले खुलारुपमै चामल विक्री वितरणको गर्न लागेको हो । संस्थानले स्थानीयको मागलाई सम्बोधन गर्न सहुलियत मूल्यमा अभियानमुखि चामल विक्रीको तयारी गरेको संस्थान सुर्खेतका प्रमुख भीमबहादुर थापाले बताउनु भयो ।
स्थानीयको माग बढ्दै गएका कारण केन्द्रसँग सहुलियत मूल्यको चामल विक्री वितरणको माग गरेको र संस्थानबाट विक्री हुने चामल बजारको मूल्यभन्दा सस्तोमा पाइने उहाँले वताउनु भयो । व्यापारीहरुले कृत्रिम अभाव सृजना गरेर कालोबजारी तथा मूल्यमा आफूखुशी गर्न थालेपछि नागरिकलाई सहजताका लागि संस्थानले चामल विक्री गर्न लागेको थापाले उल्लेख गर्नुभयो ।
‘केन्द्रले छिट्टै सुर्खेतबाट सहुलियत मूल्यको चामल विक्री वितरण गर्ने तयारी गरेको भन्दै उहाँले परिपत्र आउने वित्तिकै उपभोक्ताले बजारमूल्यभन्दा सस्तोमा चामल पाउने उहाँले दावी गर्नूभयो । तत्काल बाहिर डिपो स्थापना गर्ने योजना नरहेको र वीरेन्द्रनगर शाखाबाट नै चामल विक्री गर्ने प्रबन्ध मिलाएको संस्थालने वताएको छ ।
सुर्खेतबाट १४ करोडको चामल विक्री
संस्थानको सुर्खेत शाखाले गत आर्थिक वर्षमा १४ करोडको चामल विक्री गरेको छ ।
गत आवमा ३ हजार २ सय ४२ मेट्रिक टन चामलको विक्रीबाट १४ करोड रुपैयाँ प्राप्त भएको संस्थानले बताएको छ ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै साढे ६ करोडले बढी हो ।
आव २०७१÷०७२ मा एक हजार नौ सय २१ मेट्रिक टन चामलको विक्रीबाट ८ करोड ६४ लाख ४५ हजार रुपैयाँ प्राप्त भएको संस्थानले वताएको छ ।
सुर्खेतमा १६ सय मेट्रिक टन चामल मौज्दात
नेपाल खाद्य संस्थान, सुर्खेतसँग अहिले करिब १६ सय मेट्रिक टन चामल मौज्दात छ । तराईका विभिन्न जिल्ला र तेस्रो मुलुक बङ्गलादेशबाट अरुवा मोटो, स्टिम र मकवनापुर जातका चामल स्टक रहेको संस्थानका प्रमुख थापाले बताउनु भयो ।
उहाँले मोटा व्राण्डको चामल १० दशमलव ६० मेट्रिक टन, मकवानपुर चामल ४५ दशमलव ४० मेट्रिक टन र बंगलादेशी सहयोग चामल (स्टीम) एक हजार पाँच सय १६ मेट्रिक टन मौज्दात रहेको उल्लेख गर्नुभयो ।
संस्थानको शाखा सुर्खेतले कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोट सँगै भेरीको दैलेखमा चामल ढुवानी गर्दै आएको छ ।
संस्थानका समस्या
संस्थानले सुर्खेतको खुला बजारलाई नियन्त्रण गर्दै आफूलाई सेवामूलक प्रतिस्पर्धीका रुपमा आउने तयारी गरेको बताएको छ ।
सहुलियत दरमा गुणस्तरीय चामलको आपूर्ति गर्न भौगोलिक कठिनाई, प्रतिकुल मौषम, सवारी साधानको अभावसँगै पर्याप्त जनशक्तिको सामना गर्नुपर्नै अवस्था रहेको छ ।
अहिले संस्थानको सुर्खेत शाखामा १ जना सुब्बा र २ जना खरिदारको पद रिक्त रहेको छ । संस्थानले हवाई, ट्रक र घोडा खच्चरबाट चामल ढुवानी गर्दै आएको छ ।
साभारः राराखबर अनलाइन
Prawash Kumar Shakya । ८ श्रावण २०७३, शनिबार १५:४० बजे