नेपाल आयल निगमको फाईदा दैनिक करोड भन्दा बढी रहेको छ।
साथै सरकारले पछिल्लो पटक पेट्रोल, डिजेल र हवाई इन्धनमा लगाएको प्रतिलिटर ५ रुपैयाँ पूर्वधार करबाट बुढी गण्डकीलाई समेत दैनिक ३ करोड रुपैयाँ संकलन भइरहेको छ।
सरकारले आर्थिक वर्ष २०७३/७४ को बजेट सार्वजनिक गर्दै भारतबाट आयात गरिने पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वधार कर लगाउने निर्णय गरेअनुसार सो कर लाग्दै आएको छ।
सरकारले पूर्वाधार कर लगाए पनि उपभोक्तालाई कुनै भार पर्न नदिने समेत निगमले उद्घोष गरेको छ। कच्चा तेलको भाउ बढेसँगै भारतीय आयल निगमले बढाउँदै गएको मूल्य र सरकारले पूर्वाधार कर लगाउने निर्णय गरेसँगै निगमको फाइदा पनि घट्दो क्रममा देखिएको छ।
नाकाबन्दीको समयमा निगमले प्रतिलिटर पेट्रोलमा सरदर १९ रुपैयाँसम्म फाइदा लिएर बिक्री गरेको थियो। नाफा बढेपछि निगमले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग लिएको २५ अर्ब ऋण पनि चुक्ता ग¥यो। सरकारसँग लिएको १५ अर्ब ६४ करोडको ऋण पनि घटाएर ४ अर्ब रुपैयाँमा झारेको छ।
मूल्य समयोजन गर्न सरकारले दिएको निर्देशन नमान्ने र २०७१ भाद्रमहिनादेखि लागू भएको स्वचालित मूल्य प्रणाली पनि लागू नगर्दा निगमले मासिक १ देखि २ अर्ब रुपैयाँ सम्म फाइदा लिने गरेको थियो। यद्यपी अहिले भने निगमको फाईदा ६० प्रतिशतले घटेको छ।
निगमले अहिले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ४६ पैसा नाफा लिने गरेको छ। अहिले सामान्य रुपमा भारतबाट दैनिक रुपमा १३ सय केएल अर्थात १३ लाख लिटर पेट्रोल आइरहेको छ।
पेट्रोलबाट मात्रै निगमलाई दैनिक ५७ लाख ९८ हजार रुपैयाँ फाइदा रहेको छ। त्यस्तै दैनिक ४ हजार केएल तथा ४० लाख लिटर डिजल आयात भइरहेको छ। डिजलमा प्रतिलिटर ५५ पैसा फाईदा रहेकै आधारमा २२ लाख रुपैयाँ निगमलाई प्रतिदिन फाईदा रहेको छ।
निगमलाई मट्टितेलबाट दैनिक १८ लाख ४० हजार, आन्तरिक हवाई इन्धनबाट सरदर १२ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनबाट सरदर ४० लाख दैनिक फाइदा रहेको छ।
एलपी ग्यासमा भने निगमलाई प्रतिसिलिण्डर ५ रुपैयाँ ५७ पैसा घाटा रहेको छ। अहिले दैनिक ८ सय मेट्रिक टनको हाराहारीमा ग्यास आयात भइरहेको छ। यसरी आयात हुने ग्यासमा भने निगमलाई सरदर ३४ लाख रुपैयाँ दैनिक घाटा रहेको छ।
यी सबै इन्धनलाई समायोजन गरी हेर्ने हो भने पनि निगमलाई अहिले दैनिक सरदर १ करोड १६ लाख भन्दा बढी फाईदा रहेको छ। साथै अब सरकारललाई तिर्न बाँकी रहेको ४ अर्ब रुपैयाँ मध्ये ३ अर्ब सरकारले पुँजी विस्तार गर्न छुट दिने समेत भएको छ।
साभारः सेतोपाटी अनलाइन



Prawash Kumar Shakya । २३ जेष्ठ २०७३, आईतवार १५:२६ बजे