वीरेन्द्र चोकमा स्व.राजा वीरेन्द्रको सालिक पुर्नस्थापना (भिडियोसहित)


१४ पौष, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारको मुख्य क्षेत्र वीरेन्द्र चोकमा आज स्वर्गीय राजा वीरेन्द्रको अर्धकदको सालिक पुर्नस्थापना गरिएको छ ।

स्वतन्त्र नागरिक समाजको नामबाट आज वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्र ७७औं जन्मजयन्तीको अवसरमा सालिक पुर्नस्थापना गरिएको हो ।

तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उहाँले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर यहाँको गुरुयोजना बनाउन लगाउनुभएको थियो । २०४४ सालमा राजा वीरेन्द्रका दाम्पत्ति नै सुर्खेतमा आएर यो चोक अनावरण गर्नुभएको थियो ।

त्यसबेला नै यो चोकको नाम वीरेन्द्र चोक राखिएको हो । राजा वीरेन्द्र २०२३ सालमा पहिलो पटक सुर्खेत आउनुभएको वेला उहाँलाई उपत्यका खुब मन परेकाले २०२९ सालमा गुरुयोजना बनाउन लगाउनुभएको थियो । त्यतिबेलासम्म कटकुवा नगर पञ्चायतका रुपमा रहेको यो उपत्यकालाई त्यसैबेला वीरेन्द्र चोक नामाकरण गरिएको थियो ।

०६२/०६३ को जनआन्दोलनका वेला राजा वीरेन्द्रको शालिकसहितको वीरेन्द्र चोक भत्काएपछि पुनर्निर्माण गरिएको चोकको नाममा वीरेन्द्रको सालिक नराखेर गमला राखिएको थियो । नगरपालिकाले वीरेन्द्र चोकलाई ०७५ साल जेठमा पानीको फोहोरासहितको चोक निर्माण गर्ने योजना बनाएपनि विवाद भएपछि यो योजना सफल हुन सकेन र चोकमा गमला राखिएको थियो ।

सुर्खेत स्व. राजा वीरेन्द्रको मनपर्ने ठाँउ भएको र यहाँको विकासमा स्व. राजाको कदम योगदानलाई सम्मान गर्दै अहिलेलाई अर्धकदको सालिक पुर्नस्थापना गरिएको छ कार्यक्रमका अगुवा भरतप्रसाद ढकालले बताउनुभयो । उहाँ भन्नुहुन्छ “हामीले अहिले अर्धकदको सालिक पुर्नस्थापना गरेका छौ हामी सबै नागरिकबाट सहयोग लिएर सिंङ्गममरको पूर्णकदको सालिक राख्नने छौं ।”

https://www.youtube.com/watch?v=JKmkJ8WbgqE