
१३ माघ,सुर्खेत । फाईनल खेलमा टस जितेर फिल्ड रोजेको फ्रेण्डसिप स्पोर्टस क्लब बिरुद्ध खेलको ३९ औं मिनेटमा कर्नर किकको बललाई हेडिगबाट एबिसिका सुदिनले फेण्डसिपको जाली चुमाएपछि खेलमा बिजयी यात्रा शुरु भएको थियो ।
अखिल नेपाल फुटबल संघ(एनफा)को प्रायोजन तथा सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा यहि पौष २४ गते देखि संचालन भएको जिल्ला स्तरिय एनफा लिग खेलको उपाधि एबिसि स्पोर्टस क्लबले हात पारेको छ ।
सैनिक आवासिय महाविद्यालय वीरेन्द्रनगर सुर्खेतको खेल मैदानमा भएको फाईनलमा फ्रेण्डसीप क्लबलाई २ शून्य गोल अन्तरले पाखा लगाउदै एबीसीले उपाधी रक्षा गरेको हो । खेलको ३९ मिनेटमा एबीसीले पाएको कर्नर किकलाई एबीसीका जर्सि नम्बर ६का सुदिन विकले हेडबाट एकगोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो ।
खेलको पहिलो हाफ समाप्त हुनु अघि फ्रेण्डसीपीका कप्तान अमर बुढाले दुईपटक डिबक्सबाट प्रहार गरेको बलले जाली चुम्न सकेन । उच्च मनोबलका साथ मैदान उत्रिएको घरेलुटोली एविसीले पाहुना टोली फ्रेण्डसीपमाथी खेलको शुरुदेखी नै दबाबमा राखेको थियो । बलियो दाबेदार एविसीलाई पराजित गर्दै पहिलो पटक उपाधि भित्र्याउन लक्ष्य फ्रेण्डसीपको यो पटकको सपना पनि अधुरै रह्यो ।
यसै गरि दोश्रो हाफको शुरुदेखि नै फ्रेण्डसिप स्पोर्टस क्लवले खेलमा बराबरी ल्याउनका लागी गरेको प्रयासलाई खेलको ७० औ मिनेटमा एबीसीका लक्ष्मण शाहीले चकनाचुर पारीदिनु भयो र व्यक्तिगत गोल गर्दे खेलमा २-०को अग्रता दिलाउन सफल हुनु भएको थियो । फ्रेण्डसीपीले भने पाएको केहि मौकालाई सदुपयोग गर्न नसक्दा नतिजा एविसीलाई सुम्पिन पुग्यो ।
खेल अवधिभर दुबै टिमले ज्यादै मिहिनेत र अनुशासित खेल खेली रहदा पनि खेलको ३३ मिनेटमा एबिसिका करिण शाही र खेलको ४२ औं मिनेटमा खेलाडीलाई फल गरे वापत फ्रेण्डसिपका कप्तान अमर बुढाले एउटा एउटा पहेलो कार्ड पाउनु भएको थियो ।
खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शनी गरेवापत फ्रेण्डसिप स्पोर्टस क्लबका तिलक खड्कालाई उत्कृष्ट गोलरक्षक,फ्रेण्डसिपकै अमर बुढालाई उत्कृष्ट रक्षक, एबिसि क्लबका बिक्रम वलीलाई उत्कृष्ट मिडफिल्ड, एबिसिकै सुदिन बिकलाई उत्कृष्ट खेलाडि र काक्रेबिहार स्पोर्टस क्लबका गणेश खत्री यसै गरि जीवन ज्योती युवा क्लबका विपिन बिकलाई उत्कृष्ट गोलकर्ताको बिधामा नगद रु ४ हजार १ सय सहित ट्रफि प्रदान गरिएको थियो ।
एविसीले सेमिफाईनलमा शीरमोर क्लबललाई हराउदै फाईनल यात्रा तय गरेको हो भने फ्रेण्डसीप बावियाचौरलाई पराजित गर्दै एविसीसँगको उपाधि भिडिन्त पक्का गरेको हो । यो संगै एविसीले लगातार दोस्रो पटक उपाधि जितेको छ ।
सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनकबहादुर रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा बिशेष अतिथि कर्णाली प्रदेश खेलकुद बिकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, अतिथिहरु सैनिक आवासिय बिधालयका जनसम्पर्क अधिकृत सेनानि गणेश अधिकारी, सेनानि श्याम सुन्दर चौधरी, सामाजिक बिकास मन्त्रालय खेल महाशाखा प्रमुख जहरलाल हमाल, जिल्ला खेलकुद बिकास समितिका सदस्य सचिव जगत प्याकुरेल,जिल्ला खेलकुद बिकास समितिका सदस्य भीमकुमारी भूषाल,सैनिक आवासिय बिधालयका सहायक प्रधानाध्यापक मोती सिजापती, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, सुर्खेत जिल्ला फुटबल संघका निवर्तमान अध्यक्ष दिपक कुमार राई र गोवर्धन खड्का रहनु भएको कार्यक्रमको सहजीकरण महासंघका महासचिव गणेशकुमार कार्किले गर्नु भएको थियो ।
जितसंगै एविसीले ५१ हजार हात पारेको छ भने उपविजेता बनेको फ्रेण्डसीपले २५ हजारमा चित्त बुझाएको छ । सुर्खेत जिल्ला फुटबल संघले लिग दुई–दुई वर्षमा आयोजना गर्ने गर्दछ । लिगमा जिल्लाका १२ टोलीले सहभागीता जनाएका थिए ।
Milan Shrestha । १३ माघ २०७८, बिहीबार २०:४३ बजे