सुर्खेत उवासंघमा चुनावको मिति घोषणा संगै असन्तुष्ट पक्षद्वारा संघमा तालाबन्दी


२८ माघ, सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघ सुर्खेतमा नयाँ चुनावी मिति यही चैत्र २६ मा गर्ने घोषणा भएसंगै संघमा तालाबन्दी भएको छ ।

विधान विपरितका मागहरु राखेर केही समूहले संघमा तालाबन्दी गरेको संघका अध्यक्ष धनबहादुर रावतले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ “संघको विधानमा सदस्यले आफ्नो सदस्यता २ बर्ष सम्म नवीकरण नगरेमा मताधिकार रद्ध हुने र नयाँ सदस्य लिनेले १ बर्षपछि मात्र मतदाता र चुनाव उम्मेदवार हुने पाउने व्यवस्था रहेको तर केही व्यापारीसाथीहरुले यो व्यवस्था सच्याइनुपर्ने माग राखेको तर आफुहरुले विधान अनुसार नै कार्य गर्ने भनिएपछि असन्तुष्ट पक्षले तालाबन्दी गर्नुभयो ।”

अध्यक्ष रावत भन्नुहुन्छ “यो विशुद्ध व्यापारीहरुको संस्था हो यस्मा सबै व्यापारी एकहुन जरुरी छ । यस्मा कुनै राजनितिक हस्तक्षेप हुन भएन । हामीले पटकपटक सूचना जारी गरेका हौ सदस्यता नवीकरण गर्नकालागि तर त्यतीवेला चासो राखिएन अहिले चुनाव मिति घोषण गरिएपछि विधान मै नभएको कुराले तालबन्दी गर्नु उचित होइन अब यस्को बारेमा हामी प्रशासनलाई जानकारी दिन्छौ अब प्रशासनले के निष्कर्ष दिन्छ त्यो हेर्न बाँकी छ ।”

यता असन्तुष्ट पक्ष व्यापारीको नेतृत्व गर्नुभएका सुर्खेत आई टी सेन्टरका प्रोप्राइटर पूर्णदेव अधिकारी भन्नुहुन्छ “हो हाम्रो माग विधान अनुसार छैनन् होला यदी हाम्रो माग विधान विपरित छ भने किन कार्यसमितिको बैठकले नवीकरण छुट दिने कार्य गर्यो त? विधान कै कुरा गर्ने हो भने गत मंसीर महिनामा सम्पन्न संयूक्त साधारण सभा पनि अबैधानिक छ । त्यसैले व्यापारीका हकहितकालागि सहमतीका आधारमा सबैको सदस्यहरुको नवीकरण गरिनुपर्छ भन्ने हाम्रो माग हो ।”