
१७ बैशाख, सुर्खेत । “गुणस्तरिय एवं सुरक्षित सूचना प्रविधीको विस्तार, समुन्नत राष्ट्र निर्माणको आधार” भन्ने मूल नारा लिएर यसपटकको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधी दिवस २०७९ कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि मनाइएको छ ।
कम्प्यूटर एसोसियसन नेपाल क्यान महासंघ कर्णाली प्रदेशको आयोजना र क्यान महासंघ सुर्खेत शाखाको प्रमुख आतिथ्यतामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधी दिवस २०७९को अवसरमा १ दिने Digital Transfarmation For Digital Nepal विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
कार्यक्रममा Education, Business, Health & Communication विषयक गोष्ठीमा नेपाल टेलिकम सुर्खेतका प्रमुख ई. सन्तोष शर्मा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, कर्णाली प्रदेश प्रहरी कार्यालय साइबर सेक्यूरिटी यूनिटका प्रमुख प्रसनि राजेन्द्र शाही तथा क्यान महासंघका केन्द्रिय सचिव चिरञ्जिवी अधिकारीको सहभागीता रहेको थियो ।
सम्वाद कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य महासंघका अध्यक्ष लक्ष्मण कँडेलले प्रदेश सरकारको नारा डिजिटल कर्णाली प्रदेश नारा मात्र सिमित रहेको बताउँदै डिजिटल प्रविधीको यूगमा कर्णाली सबै भन्दा पछाडी रहेको औल्याउनुभयो । त्यस्तै नेपाल टेलिकम सुर्खेतका प्रमुख ई. सन्तोष शर्माले कर्णालीको कालिकोट जुम्ला हुम्ला र डोल्पा सम्म फाइवर पुर्याउन सके डिजिटल प्रविधीमा फड्को मार्न सकिने बताउनुभयो ।
यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालय साइबर सेक्यूरिटी यूनिटका प्रमुख प्रसनि राजेन्द्र शाहीले अहिले साइबर क्राइम बढ्दै गइरहेकोले त्यसप्रति सचेत हुन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “सामाजिक सञ्जालमा आफ्ना सबै कुरा प्रष्टरुपमा नराख्नुस जस्ले गर्दा तपाईहरुको घरमा विभिन्न घटना हरु हुनसक्छ त्यसैले त्यस्ता कुनै घटना तपाई वा तपाईको नजिक भएका छन् भने प्रहरीलाई तुरुन्त निसंकोच खबर गर्नुहोस ।”
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि क्यान महासंघका केन्द्रिय सचिव चिरञ्जिवी अधिकारीले कोरोनाले गर्दा धेरैलाई डिजिटल प्रविधी संग नजिक बनाएको बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाले हामीहरुलाई डिजिटल प्रविधी संग नजिक पुर्याएपनि अझै हामीले यस्को उपयोग राम्रो सित गर्न नसकेका छैनौ ।”
क्यान महासंघ सुर्खेतका सचिव प्रवाश कुमार शाक्यले सञ्चालन गर्नुभएको कार्यक्रममा सम्वाद कार्यक्रमको सहजीकरण पत्रकार गोविन्द खत्रीले गर्नुभएको थियो ।
Milan Shrestha । १७ बैशाख २०७९, शनिबार १९:४० बजे