जल तथा मौसम कार्यालयको जीप कपासेमा दुर्घटना,एक जनाको मुत्यु


तस्वीरःसशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेसीमलका एसपी बिमल डाँगी ।

८ असार, सुर्खेत । सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेरो जीप दुर्घटनामा परेको छ । अछाम र दैलेख सीमानामा पर्ने असराघाटस्थित कर्णाली नदीको वहाव मापन केन्द्रको अवस्था बुझेर फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासे मोडमा दुर्घटनामा परेको हो ।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेसीमलका एसपी बिमल डाँगीले जानकारी दिनुभएको छ । उहांकाअनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुमपश्चिम चौरजहारी नगरपालिका २ का २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको पुष्टी जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले गनुभएको छ। बुढाथोकी जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा इन्जिनयर हुनुहुन्छ ।

उहांका अनुसार दुर्घटनामा कोहलपुर नगरपालिका–२ बाँके घर भएका सवारी चालक कोहलपुरका बाबुराम गुरुङ्ग,तुर्माखाँद गाउँपालिका–२ अछामका २७ वर्षीय तुलसीकुमारी रावत विसी र उहांका तीन वर्षीय छोरी दिदसा बुढा यसैगरी टिकापुर नगरपालिका–२ कैलालीकी २७ वर्षीय इन्जिनियर (जल विज्ञान सहायक) सरस्वती विष्ट, घाइते हुनुभएको छ भने उहांहरुको अवस्था सामान्य रहेको पराजुलीले बताउनु भयो ।

घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । ओभर स्पीडका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाए पनि यसबारे गप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।