‘सुनुवाई समितिले न्यायाधीश अनुमोदन गर्ने’


चर्को आलोचना र टिप्पणीको विषय बनेको सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको नाम, संसदीय सुनवाई समितिबाट आईतबार सर्वसम्मतिले अनुमोदन हुने बलियो सम्भावना रहेको उक्त समितिका सदस्यहरुले जनाएका छन्।

एमालेकी एक पूर्वसभासद र एमाले नेतृत्वको सरकारका महान्यायाधिवक्ताबारे धेरै टिप्पणी गरिए पनि गैरएमाले सांसद पनि अनुमोदनको पक्षमा देखिएका छन्।

तयारी

दुई दिनमा ११ जना प्रस्तावित न्यायाधीशसँगको सुनुवाई सकेपछि समिति आईतबार त्यसबारे निर्णय गर्ने तयारीमा छ।

बाहिर तीव्र अलोचना निम्त्याइ दिएको न्यायाधीश सिफारिस गर्दाताकाको सत्ता समीकरण फेरिएकाले संसदीय सुनुवाई समितिले दुई तिहाई बहुमतको बलमा सिफारिस उल्टाउने हो की भन्ने आशंका जन्मिएको थियो।

तर एमालेको सरकार छाडेर नयाँ सरकारको नेतृत्व गर्न अग्रसर नेकपा माओवादी केन्द्रकी सांसद तथा समिति सदस्य अनिता परियारले भनिन्, “बाहिर जति चर्चा भयो। सुनुवाई समिति भित्र त्यो त्यति ठूलो विषय बनेको छैन। फेल गर्ने खालको कुरा छैन। सवैलाई पास गरेरै लाने कुरा छ।”

१५ सदस्यीय समितिमा अहिले १४ जना छन्। कसैको नाम अस्विकार गर्न १० जना पुग्नुपर्छ।

तर माओवादी केन्द्रका सांसद समेत अनुमोदनको पक्षमा देखिएकाले अनुमोदनको सम्भावना प्रबल देखिएको हो।

एमालेकी पूर्वसभासद सपना प्रधान मल्लको सिफारिसले ठूलै हंगामा निम्त्याएको थियो। समितिमा मर्यादाक्रमबारे पनि कुरा उठेको थियो।

समितिकी सदस्य तथा एमाले सांसद अष्टलक्ष्मी शाक्य भन्छिन्, “निर्णय गरी पठाउंदा खेरी उहाँहरुको रोल क्रम अलिकति मिलाउनु पर्दथ्यो। तर त्यसमा धेरै जटिल समस्या वा विवाद आएको छैन।”

प्रमुख राजनीतिक दलहरुबीचको मतभेदका कारण ८ महिना ढिलो गरि गठन भएको संसदीय सुनुवाई समितिले रोकिएको प्रस्तावित राजदूतको सुनुवाई प्रक्रिया पनि आईतबारदेखि थाल्ने जनाएको छ।