
प्रधानमन्त्री चयन गर्न सदनमा बुधबार हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको मात्र उम्मेदवारी परेको छ।
संसद् सचिवालयका अनुसार एकजनाको मात्र उम्मेदवारी परेपनि मत विभाजनकै आधारमा संसद्ले बुधबार नयाँ प्रधानमन्त्री चयन गर्नेछ।
यसअघि नेकपा एमालेले पनि पार्टीको तर्फबाट उम्मेदवार उठाउने चर्चा चलेपनि उसले उम्मेदवारी नदिई प्रचण्डको विपक्षमा मतदान गर्ने निर्णय गरेको उक्त पार्टीका एकजना नेताले बताए।
नेपाली कांग्रेस र तराई केन्द्रित लगायतका दलहरुको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदका लागि मंगलबार संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका हुन्।
प्रस्तावक
प्रस्तावक तथा समर्थक नेताहरुसहित उम्मेदवारी दर्ताका लागि करिब साढे ११ बजेतिर उनी संसद सचिवालय पुगेका थिए।
प्रचण्डको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् भने माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महरा र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले उनलाई समर्थन गरेका छन्।
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले भने, “प्रधानमन्त्रीको उम्मेदवारी सम्बन्धमा बिहान ११ बजेदेखि ४ बजेसम्म दिइएको समयमा एकमात्र दरखास्त माननीय श्री पुष्पकमल दाहाल प्रचण्डजीको पर्न आएको छ। प्रस्तावक शेरबहादुर देउवा र समर्थकमा कृष्णबहादुर महरा लगायत १६ जना हुनुहुन्छ।”
संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार प्रधानमन्त्रीमा निर्वाचित हुनका निम्ति उम्मेदवारले हाल कायम ५ सय ९५ सांसदमध्ये २ सय ९८ जनाको मत ल्याउनुपर्ने हुन्छ।
संसद्कै सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका अन्य दलहरु समर्थनमा उभिएकाले प्रचण्डले सजिलै बहुमत ल्याउने माओवादी केन्द्रका नेताहरुले बताएका छन्।

सो पार्टीको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले थपे, “आरामदायी बहुमत आउने कुरामा त हामी ढुक्क छौँ। अविश्वासको प्रस्तावमा उभिएका दलहरु मात्र होइनन् त्यसबाहेक अरु पनि छन्।”
आश्चर्य
प्रधानमन्त्री ओलीविरुद्ध तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले नै आफ्नो अग्रसरतामा अविश्वासको प्रस्ताव दर्ता गराएपछि क्रुद्ध बनेको एमालेले पनि उम्मेदवार उठाउने चर्चा थियो।
तर उम्मेदवारीको समय शुरु हुनु केही समयअघि उसले उम्मेदवार नउठाई प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेर धेरैलाई आश्चर्यमा पारेको छ।
एमाले स्थायी समितिको निर्णयबारे प्रवक्ता योगेश भट्टराईले भने, “पार्टीको तर्फबाट प्रधानमन्त्री पदका लागि उम्मेदवारी नदिने, एमाले प्रमुख प्रतिपक्षमा बस्ने र संविधान कार्यान्वयन लगायतका एजेण्डामा अगाडि बढ्ने निर्णय हामीले गरेका छौँ।”
पार्टीको तर्फबाट प्रधानमन्त्री पदका लागि उम्मेदवारी नदिने, एमाले प्रमुख प्रतिपक्षमा बस्ने र संविधान कार्यान्वयन लगायतका एजेण्डामा अगाडि बढ्ने निर्णय हामीले गरेका छौँ
Prawash Kumar Shakya । १८ श्रावण २०७३, मंगलवार १६:०३ बजे