वीरेन्द्रनगरमा पनि घन्किने भयो घिमे बाजा, कलासंस्कृति संरक्षण गर्नुपर्नेमा नगरप्रमुख ढकालको जोड


५ जेठ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पनि नेवार समुदायको धिमे बाजा घन्किने भएको छ ।

नेवार समुदायको संगठन नेवाः देय् दबु सुर्खेतको आयोजना तथा शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको सहयोगमा वीरेन्द्रनगरमा २० दिने नेवारी नृत्य तथा धिमे बाजा प्रशिक्षण कार्यक्रम आजदेखि शुरु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले विविधतामा एकता भएको हाम्रो देश विश्वमान चित्र पहिचान बनाएको बताउनुभयो । उहाँले भन्नुभयो “विकास भन्ने कुरा बाटोघाटो नाला बनाउनु मात्र होइन विकास भनेको सामाजिक न्याय पनि हो । विभिन्न जातजातिका समाजिक संस्कृति भाषाहरुको जगेर्ना गर्नुपनि विकास हो ।

नगरप्रमुख ढकाल भन्नुहुन्छ “अब संसारकै समृद्ध राष्ट्र भनेर चिनिने अमेरिकाले हाम्रो देशमा रहेका टोल विकास संस्थाहरुबाट पनि सामाजिक सद्भाव जस्ता कुराहरु सिक्दैछ त्यो के भने हामी समुदायमा सबै कुराहरु एकआपसमा गर्दछौ भने अमेरिकामा यस्तो बानी हराएकोले पनि अब उस्ले यो बानी सिक्नुपर्ने भएको छ । हामीले जातजातिका भाषा संस्कृति संरक्षण गर्न सके पर्यटकिय गन्तब्य बन्न सक्छ । त्यसैले हामीले देशलाई हेर्नुपर्छ । देखिएका कमीकमजोरीलाई सुधार गर्नुपर्छ ।”

त्यस्तै कार्यक्रममा नेवारी नृत्य तथा धिमे बाजाका प्रशिक्षक सुदनमान मुनिकारले सुर्खेतमा रहनुभएका नेवार समुदायले आफ्नो कलासंस्कृतिलाई जगेर्ना गर्नकालागि देखाएको तत्परताकालागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “वीरेन्द्रनगरको गुरुयोजना बनाउने हाम्रो समुदायको माधवभक्त माथेमाको शहरमा आफुले जानेको कलासंस्कृतिलाई सबै संग बाढ्न पाएकोमा अत्यन्त खुशी लागेको छ । यो अवधीमा म आफुले जानेको कलालाई तनमन दिएर सिकाउने छु ।”

कार्यक्रममा वरिष्ठ अधिवक्ता ध्रुवकुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवहाक अध्यक्ष अशोक राजी लागएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै नेवाः देय् दबुका नि. वर्तमान केन्द्रिय उपाध्यक्ष मिलन श्रेष्ठले सुर्खेतमा नेवारहरुको इतिहास र संस्थाले गरेका कामहरुको जानकारी दिनुभएको थियो ।

कार्यक्रम दबु सुर्खेतका अध्यक्ष तिशा शाक्य श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने वरिष्ठ उपाध्यक्ष लवमान श्रेष्ठले स्वागत एवं सचिव बालकृष्ण श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।