
२७ जेठ, सुर्खेत । अपाङ्गता भएका महिलाहरुकालागि सीड सम्बन्धी एकदिने तालिम आज वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघको आयोजना र टेवाको सहकार्य कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ८ नं. वडाका वडा अध्यक्ष टिकाराम आचार्यले अपाङ्गता भएका व्यक्तिहरुले उत्पादन मुलक सिपको काम गरे त्यसको बजार प्रवर्द्धन गर्न आफूले सक्दो प्रयास गर्ने बताउनुभयो ।
त्यस्तै अपाङ्गता जनचेतना तथा सञ्चार सेवा सुर्खेतका अध्यक्ष विष्णु भट्टराईले अपाङ्गता भएका व्यक्तिहरु पनि समय परिवर्तन सँगसँगै धेरै सिपमुलक काम गर्न सक्ने भएको बताउनुभयो । त्यस्तै कार्यक्रममा चामुण्डा विन्द्रासैनी नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष एवं पञ्चकोशी अपाङ्गता विकास केन्द्रका अध्यक्ष रत्न बहादुर शाहीले आफ्नो वडा बाट अपाङ्गताभएकाहरुलाई सक्ने जति सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका व्यवस्थापक आनन्दबहादुर विष्टले पनि आफ्नो भनाइ राख्नुभएको थियो । राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ कर्णाली प्रदेश अध्यक्ष रत्ना रानाले अपाङ्गता भएका पिछडिएका जनजाति महिलाहरुपनि विभिन्न संघसंस्थाको सहयोगमा अहिले विभिन्न सिप सिकेर उत्पादन मुलक काममा लागेको बताउनुभयो ।



Prawash Kumar Shakya । २७ जेष्ठ २०८०, शनिबार १९:३६ बजे