अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छः मेयर शाह


७ असार, काठमाण्डौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले अदालत र सरकार भारतको गुलाम भएको आरोप लगाउनुभएको छ । हिन्दी चलचित्र आदिपुरुषमा ‘सीता भारतकी छोरी हुन्” भन्ने सम्वाद हटाउन मेयर शाहले चेतावनी दिनुभएको थियो । यदी नहटाय काठमाण्डौ महानगर भरी कुनैपनि हिन्दी चलचित्र चलाउन बन्देज गरिने चेतावनी दिनुभएको थियो ।

मेयर शाहको कदम विरुद्ध चलचित्र संघले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उच्च अदालत पाटनले हिन्दी फिल्म नरोक्न अन्तरिम आदेश दिएपछि मेयर शाहले फेसबुक मार्फत देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताउनुभएको हो ।

‘फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइने छैन।’  मेयर शाहले आफ्नो फेसबुकमा लेख्नुभएको छ ।

काठमाडौं महानगरपश्चात पोखरा महानगरपालिका र  धरान उपमहानगरपालिकाले पनि भारतीय हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका छन्।

यसैवीच सामाजिक सञ्जालमा मेयर शाहको फेसबुकमा स्टाटसमा सकारात्मक कमेण्टको ओइरो लागेको छ ।