प्रशासनको आग्रह डेङ्गीबाट बच्न पूरा बाहुला भएको कपडा लगाऔं


३१ साउन, सुर्खेत । देशभर डेङ्गी रोगको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि चेतना मुलक सूचना जारी गरेको छ ।

आज सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको अध्यक्षतामा सरोकारवालाको बैठक बसी सचेनामुलक सूचना जारी गरेको हो ।

प्रशासन कार्यालयले डेङ्गी रोग नियन्त्रण तथा रोकथामकालागि लामखुट्टे तथा सोको फुल खोज र नष्ट गर भन्ने अभियानका विषयमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै चेतनामुलक सूचना जारी गरेको छ । जारी सूचनामा पूरा बाहुला भएको कपडा लगाउने, झुल भित्र मात्र सुत्ने, घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली तथा झुल लगाउने, घर-कार्यालय तथा सार्वजनिक ठाँउमा पानी जम्न नदिने, खाल्डाखाल्डी पुर्ने र खानेपानी वा ढल चुहिने भएमा तत्काल मर्मत गर्ने गराउने अनुरोध गरिएको छ ।

त्यस्तै सूचनामा गमलाको प्लेट, फूलदानी कुलर आदीको पानी कम्तिमा हप्ताको १ पटक सफा गर्ने तथा पानी जम्मा गर्ने भाँडोलाई लामखुट्टे छिर्ने नसक्ने गरि छोप्न अनुरोध गरिएको छ । जिल्लामा लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन भइरहेकाले लामखुट्टेको टोकाइबाट बच्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।