प्रधानमन्त्री समक्ष सुर्खेत उद्योग बाणिज्य संघद्वारा १८ बुँदे मागपत्र पेश


४ भाद्र, सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड समक्ष व्यापारीहरुको साझा संगठन सुर्खेत उद्योग बाणिज्य संघले आज १8 बुँदे मागपत्र पेश गरेको छ ।

कर्णालीका तमाम खाले चुनौतीहरुलाई सम्भावना र सम्भावनाहरुलाई अवसरमा परिणत गर्दै प्रदेशलाई समृद्ध, सवल र सक्षम प्रदेशकारुपमा स्थापित गर्ने अठोट सुर्खेत उद्योग बाणिज्य संघले लिएको जनाउँदै निजी क्षेत्रको अठोट र अभियानमा नेपाल सरकारको महत्वपूर्ण अभिभावकिय भूमिका रहने वास्तविकतालाई मनन गर्दै प्रधानमन्त्री समक्ष माग पत्र पेश गरिएको संघका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो ।

मागपत्रमा चौकुने तथा लखरपाटा सिमेण्ट उद्योग स्थापनाकालागि सडक तथा विद्युत, सुर्खेतको साटाखानीमा प्रस्तावित औधोगिक क्षेत्र तथा प्रदेशका प्रत्येक जिल्लामा औधोगित ग्रामको स्थापना, प्रदेशिकस्तरको प्रदर्शनीस्थल, विमानस्थलको धावनमार्ग विस्तार, कर्णालीका जिल्लाहरु सहुलियत दरमा हवाई सेवा, जडिबुटी प्रशोधन केन्द्र सञ्चालनकालागि आवश्यक मेसिनरी, सुर्खेत-नेपालगँज, सुर्खेत-दाङ्ग-सल्यान-रुकुमपश्चिम सडकको स्तरोन्नती, सुर्खेत-दैलेख-कालिकोट-जुम्ला-रारा हुँदै मानसरोवर जोड्ने सडक बनाउन उच्च प्राथमिकतामा राख्न माग गरिएको छ ।

त्यस्तै मागपत्रमा कर्णालीकामा निर्माणाधिन जलविद्युत आयोजनाहरु, पेट्रोलियम पदार्थ उत्खनन् आयोजना, सुर्खेतको १३२ केभीए विद्युत प्रशारणलाइन लगाएतका मागहरु समेटिएका छन् ।