काठमाडौँ, साउन २२ गते । इम्जा तालको जोखिम न्यूनीकरण गर्ने कार्यमा नेपाली सेनाले सफलता हासिल गरेको छ । सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा रहेको यो ताल पाँच हजार दश मिटरको उचाइमा छ ।
तालको जोखिम न्यूनीकरण गर्न सरकारले विभिन्न पटक ठेक्का आह्वान गरे पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय कुनै पनि ठेकेदार कम्पनीले आँट नगरेपछि सरकारले यसको जिम्मा नेपाली सेनालाई दिएको थियो ।
जनसङ्ख्या तथा वातावरण मन्त्रालयका अनुसार सेनाले हालसम्म ७५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । यही तालको जोखिम न्यूनीकरण गर्न र प्रभावित क्षेत्रमा नदी नियन्त्रण, बाढी तथा प्राकृतिक प्रकोपका लागि पूर्व सूचना प्रणालीको विकास, प्रभावित क्षेत्रका बासिन्दालाई विपद्बाट बच्न उपाय र सचेतना अभिवृद्धि गर्न सरकारले समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्यूनीकरण आयोजना सञ्चालनमा ल्याएको छ । यही आयोजना मार्फत नेपाली सेनालाई यो कामको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले नेपालमा थुप्रै हिमताल जोखिमयुक्त अवस्थामा रहेको बताउनुभयो । यस्ता तालको जोखिम न्यूनीकरणका लागि नेपाली सेनाको क्षमता विकास र अनुभव वृद्धि गर्न इम्जाको जिम्मेवारी सेनालाई दिएको उहाँले जानकारी दिनुभयो ।
यसअघि च्छोरोल्पाको जोखिम न्यूनीकरण गर्ने काम विदेशी परामर्शदाता कम्पनीलाई दिइएको थियो । च्छोरोल्पामा सरकारले ठूलो धनराशि लगानी गरे पनि उच्च हिमतालको जोखिम न्यूनीकरण गर्ने कार्यको अनुभव नेपालका विपद् व्यवस्थापन वा जोखिम न्यूनीकरणमा काम गर्ने नेपाली सेना र प्रहरीले हासिल गर्न सकेका थिएनन् ।
इम्जा हिमताल रहेको सोलुखुम्बु जिल्लाका एक दर्जन बस्ती र तल्लो तटीय क्षेत्र उदयपुर, सिराहा, सप्तरी र महोत्तरीका नदी प्रणालीमा आयोजनाले काम गरिरहेको छ । आयोजना राष्ट्रिय प्रबन्धक टोपबहादुर खत्रीले हिन्दुकुश हिमालय क्षेत्रका जोखिमयुक्त हिमतालमध्ये इम्जा सबैभन्दा बढी जोखिमयुक्त रहेको जानकारी दिनुभयो । इम्जाले १५० किलोमिटरको तटीय क्षेत्रलाई असर पार्न सक्ने सम्भावना रहेको बताउनुभयो ।
अत्यन्तै जोखिममा रहेको यो ताल भूकम्पपछि जति बेला पनि फुट्न सक्नेतर्फ वैज्ञानिक तथा अनुसन्धानकर्ताले सचेत गराउँदै आएका थिए । नेपाली सेनाले जोखिम न्यून गरेपछि तल्लो तटीय क्षेत्रका बासिन्दाले केही राहत महसुस गरेका छन् ।
नेपाली सेनाले हेलिकोप्टरको सहायताले आवश्यक मेसिन, उपकरणहरू इम्जा पु¥याएको थियो । इम्जा जोखिम न्यूनीकरणका लागि ठूलो उपलब्धि हो, आगामी दिनमा सेनाले यस्तै खालका जोखिम न्यूनीकरणमा भूमिका खेल्न सक्छ, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले भन्नुभयो ।
महानिर्देशक डा. शर्माका अनुसार नेपाली सेनालाई यो काम गर्न ३३ करोड रुपियाँ प्रदान गरिएको थियो । सेनाले गत अप्रिल महिनामा काम थालेको हो, जुलाईसम्म आइपुग्दा दुई तिहाइ काम सम्पन्न भइसकेको छ ।
सेनाले तालको पानी निकासका लागि डाइभर्सन च्यानल निर्माण गरिसकेको छ भने पानी निकास गर्न गेट निर्माण अन्तिम चरणमा पुगेको छ । तालको पानी कम्तीमा तीन मिटर घटाइने महानिर्देशक डा. शर्माले जानकारी दिनुभयो । आउँदो सेप्टेम्बरको दोस्रो सातासम्ममा गेटबाट पानी निकास दिन सकिने बताइएको छ ।
हिमालको काखैमा रहेको यो ताल १४९ मिटर गहिरो छ । यस तालमा ७४ मिलियन क्युबिक पानी रहेको अध्ययनले देखाएको छ । जलवायु परिवर्तनसँग सम्बन्धित सरकारले निर्माण गरेको राष्ट्रिय अनुकूलन कार्यक्रम (नापा) ले निर्दिष्ट गरेका नौ वटा कार्यगत क्षेत्रमध्येका हिमतालको जोखिम न्यूनीकरण र तराईमा बाढीको प्रकोपलाई नियन्त्रण गर्ने काममा सरकारले हाल यस आयोजनामार्फत काम गरिरहेको छ ।
साभारः गोरखापत्र अनलाइन



Prawash Kumar Shakya । २२ श्रावण २०७३, शनिबार ०४:२९ बजे