ठमेलमा खुल्यो ५० करोडमा ‘होटल आर्टस् काठमाडौं’


फागुन, काठमाडौं । राजधानीको पर्यटकीय केन्द्र ठमेलमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ठमेलको चाक्सीवारी मार्गमा ५० करोड लगानीमा ‘होटल आर्टस् काठमाडौं’ सञ्चालनमा आएको हो ।

लामो समयदेखि कार्गो र गार्मेन्ट व्यवसायमा संलग्न गोरखाका चिरञ्जीवी भट्टले होटल खोलेका हुन् । होटलमा स्टान्डर्ड, डिलक्स र स्वीट गरी ६० वटा रुमहरु रहेका छन् । होटलको आठ तले भवनबाट काठमाडौं उपत्यकाको पुरै भू(भाग देख्न सकिन्छ ।

होटलको पहिलो तलामा स्पा एन्ड साउना, ब्यूटिपार्लर, बैंक, सपिङ आर्केड, एटीएम काउन्टर, कफी शप लगायत रहेका छन् । दोस्रो तलामा रिसेप्सन र द आर्टस् क्याफे एन्ड बार रहेको छ । क्याफेमा एकैपटक ६० जनालाई सेवा दिन सकिने होटलका महाप्रबन्धक सिंहले जानकारी दिए ।
भवनको ३ देखि ७ तलासम्म बेड रुमहरु रहेका छन् । आठौं तलामा पार्टी हल रहेको छ । त्यहाँ डेढ सय जनासम्मको ककटेल पार्टी गर्न सकिने महाप्रबन्धक प्रविन्द्र सिंहले जानकारी दिए । यहाँबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।

‘होटलका रुमहरु वातानुकुलित रहेका छन्, रुममा चिसो(तातो पानी र फ्रि वाइफाइ सुविधा समेत उपलब्ध छ’ महाप्रबन्धक सिंहले भने( ‘हामीसँग स्टान्डर्ड, डिलक्स र स्वीट गरी तीन प्रकारका रुमहरु रहेका छन् ।’ होटलमा पार्किङको समेत राम्रो व्यवस्था रहेको छ ।

होटलमा कर बाहेक स्टान्डर्ड रुमको ७० अमेरिकी डलर, डिलक्स रुमको ८० डलर र प्रिमियम रुमको १०० डलर तोकिएको छ । इन्डियन, चाइनिज, मध्यपूर्वी, युरोप र अमेरिकी पर्यटकलाई लक्षित गरेको होटलका अध्यक्ष चिरञ्जिीवी भट्टले बताए ।

होटलको भवन अध्यक्ष भट्टको आफ्नै हो । ‘ठमेलमा जग्गा २०६० सालमा नै किनेको थिएँ, त्यहीँ भवन बनाएर होटल सुरु गरेँ’ भट्टले भने( ‘विगत २४ वर्षदेखि पर्यटन क्षेत्रमा कार्यरत छु, पर्यटनमा सम्भवना देखेर होटल सञ्चालन गर्ने निर्णय गरेको हुँ ।’
होटलमा ग्राहकको चाहना अनुरुप विभिन्न स्वादका खानाहरु खुवाइन्छ । नेपाली मौलिक स्वादको खाना पनि होटलमा पाइने बताइएको छ । होटलमा ओपन किचन रहेको छ । बाहिरबाटै खाना पकाएको देख्न सकिन्छ । तारे होटलमा काम गरेका सेफहरुले खाना पकाउने अध्यक्ष भट्टले बताए ।

होटलको अर्को आकर्षक पक्ष हो, आकर्षक पेन्टिङ । होटलको लाउञ्ज, बेडरुम, भर्‍याङ लगायतका ठाउँहरुमा आकर्षक पेन्टिङ राखिएको छ । सञ्चालक भट्ट आफै ‘फाइन आर्ट’को विद्यार्थी भएको हुँदा उनैले कोरेका पेन्टिहरु होटलमा राखिएको हो । यसको अलवा अन्य कलाकारका पेन्टिङहरु पनि किनेर राखेको उनले सुनाए ।

होटलमा ग्यालरी समेत राखिएको छ । जहाँ विभिन्न कलाकारका पेन्टिङहरु बिक्रीमा राखिएको भट्टले बताए । पेन्टिङ बिक्रीबाट भएको आम्दानीको ५ प्रतिशत रकम गरिव कलाकारको पढाईमा लगाउने उनको भनाई छ ।
‘होटलमा आउने पर्यटक मार्फत नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्ने हाम्रो योजना हो’ अध्यक्ष भट्टले भने( ‘यो प्रयासले नेपाली कलारकारको प्रमोट समेत हुने मलाई विश्वास छ ।’ उनले होटलको नामसमेत कलासँग जोडेर राखेका छन् ।

होटलमा आफै मार्केटिङ गरेर पर्यटक भित्राउने व्यवस्थापनको योजना छ । यसका लागि अनलाइन तथा सामाजिक सञ्जाल र विदेशमा भएका मेलामार्फत मार्केटिङ गर्ने महाप्रबन्धक सिंहले बताए । ‘हामी नेपाल पर्यटकीय गन्तव्य हो भनेर प्रवर्द्धनमा जुट्छौं’ उनले भने( ‘बुद्धको जन्मस्थल लुम्विनी, पशुपति, सगरमाथा लगायतका गन्तव्य देखाएर विदेशी पर्यटक भित्राउँछौं ।’

होटलमा ३० जना कर्मचारी कार्यरत छन् । सबै कर्मचारीलाई मल्टी स्किल तालिम प्रदान गरेको भट्टले बताए । बढी कर्मचारी होटल व्यवस्थापनमा स्नातक गरेका युवाहरु रहेको उनको भनाई छ ।
साभारः अनलाईन खबर ।