सामाजिक सुरक्षा कोषले गर्यो चिङ्गाड गाउँपालिका र देउती अस्पताल सँग सम्झौता


२ पौष, सुर्खेत । चिङ्गाड गाउँपालिका र सामाजिक सुरक्षा कोषवीच पालिका क्षेत्र भित्रका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष मा आवद्ध गराउने सम्झौता भएको छ । कोषका निर्देशक उत्तम राज नेपाल र चिङ्गाड गाउँपालिकाका अध्यक्ष वोधविक्रम जि.सि.ले आज सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । यस सँगै यो पालिका कोषसँग सम्झौता गर्ने पहिलो पालिका भएको छ ।

“निर्वाचित भएदेखिनै केही न केहि नयाँ र दीर्घकालीन प्रकृतिका जनमुखी कार्य गरौ भन्ने पालिकाको संस्थागत हुटहुटी थियो आज कोषसँगको सम्झौताले त्यसको आधार तयार भएको छ ।” अध्यक्ष जि.सि.ले भन्नुभयो।

निर्देशक नेपालका अनुसार “पालिका क्षेत्र भित्रका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सम्झौता भएसँगै पालिकाले कानुनको पालना र ति श्रमिकको सामाजिक सुरक्षाको दायित्व कोषमा हस्तान्तरण हुने आधार तयार भएको छ ।” स्वास्थ्य उपचार, दुर्घटना, मातृत्व सुरक्षा, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना लगायतका सुविधाहरु पाइने भएपछि तिनले स्वास्थ्य सुरक्षा र भविष्यमा हुने पैसाको अभावमा कोहि अपहेलित हुन नपर्ने निर्देशक नेपाल भन्नुहुन्छ । सो पालिका क्षेत्र भित्रका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई कोषमा सूचीकृत गर्न श्रमिक पहिचान र छनौट गरि यो योजनाको कार्यान्वयनमा जुट्ने पालिका अध्यक्ष जि.सि. बताउनुहुन्छ ।

त्यस्तै कर्णाली प्रदेशमा कोषका सेवाग्राहीलाई स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले कोष र देउती अस्पताल प्रा.लि. सुर्खेतवीच सम्झौता भएको छ । कोषका निर्देशक नेपाल र देउती अस्पतालका संचालक डम्बरबहादुर थापाले एक सम्झौता पत्रमा हस्ताक्षर गरेर सम्झौता गर्नुभएको छ । कोषका सेवाग्राहीलाई सहजता र प्राथमिकताका साथ गुणस्तरीय स्वास्थ्य सेवा दिने कुरामा आफु प्रतिवद्ध रहेको अस्पताल सञ्चालक थापा बताउनुभयो । देउती अस्पताल कर्णाली प्रदेशमा कोषका सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो अस्पताल भएको र यसको प्रभावकारी स्वास्थ्य सेवा प्रवाहले कोषको समेत प्रभावकारीता प्रस्तुत हुने भएकोले कोषका सेवाग्राहीलाई अस्पतालले उच्च प्राथमिकतामा राखि गुणस्तरीय सेवा दिन निर्देशक नेपालले आग्रह गर्नुभयो ।