रक्तदाता पाण्डेद्वारा विरामी बालकलाई सहयोग


१६ माघ, गुल्मी । गुल्मीका समाजसेवी तथा अगुवा रक्तदाता धुव्र पाण्डेको सहयोगमा मलद्वार विहिन विरामी बालकलाई उपचारका लागि काठमाण्डौं पठाइएको छ । विरामी बालकको आर्थिक अवस्था कमजोर रहेपछि पाण्डेको सहयोगमा कठमाण्डौं पठाइएको हो ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर १४ रातामाटाका बाबुराम बिक र कमला बिकका सात वर्षीय छोरा आशिष बिकको जन्मदेखि नै मलद्वार थिएन । कम्मरको बायाँ तर्फमा प्वाल बनाएर दिसा गर्दै आएका आशिषको आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन सकेको पाण्डेले जानकारी दिनुभयो ।

रक्तदाता समाजसेवी पाण्डेले बालकको आर्थिक अवस्था कमजोर देखेपछि आफ्नै पहलमा उपचार गर्ने प्रतिबद्धता ब्यक्त गर्दै उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लाग्ने करिब ६ लाख रुपैयाँ सहजीकरण गरी जुटाई उपचारमा सहयोग गर्नुभएको छ । १२ पुस २०७४ मा घरमै जन्मिएका आशिषको मलद्वार नै थिएन । उनको मूत्रनली पनि सामान्य छैन् । जसले आर्थिक अवस्था कजोर भएपछि हालसम्म उपचार पाउन सकेका थिएनन् ।

रक्तदाता समाज नेपालका केन्द्रीय सदस्य समेत रहेका गुल्मीका अगुवा समाजसेवी धुव्र पाण्डेले रक्तदाता समाज न्यूरोड शाखा काठमाडौंका अध्यक्ष केदारप्रसाद न्यौपाने र समाजसेवी मेगा तिमिल्सिनालाई आग्रह गरी बिरामी बालकको उपचार गरिदिने भएका हुन् । अस्पतालले अप्रेसन गर्ने दिन पाण्डे आफै काठमाडौं पुगेरै सहजीकरणसहित सहयोग गर्ने बताउनुभएको छ ।

बिरामी आशिषकी आमा कमला बिकले अस्पतालमा धुव्र पाण्डे भेटिएकोमा भगवान् नै भेटिए सरह भएको बताउनुभयो । उहाँले वडा, नगर, अस्पताल र काठमाडौं सम्मै पुगेर सहयोग गरेकोमा धन्यवाद दिँदै उपचारमा लाग्ने खर्च जोहो गरिदिएकोमा आभार प्रकट गरिन् । कमला श्रीमान् बाबुराम भारतमा रोजगारी गर्थे । हाल उनी घरमै छन् भने उपचारका लागि काडमाडौं प्रस्थान गरेका छन् । बाबुराम र कमलाको दोस्रो सन्तान पनि गत वर्ष भदौमा मलद्वारबिहिन जन्मिएको र आठ दिनमा मृत्यु भएको थियो ।

तम्घासमा पाल्पाली फेन्सी समेत संचालन गर्दै आएका समाजसेवी धुव्र पाण्डेले बालकको अवस्थाका कारण आफूले सहयोग गरेको बताउनुभयो । बिरामी बिकलाई उपचारका लागि केही राहात होस् भन्ने हेतुले रेसुंगा नगरपालिकाले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।