कोठे उपभोक्ता समिति गठन भएको भन्दै प्रशासनमा उजुरी


बिस्नप्रसाद न्यौपाने
कालिकोट बैशाख ४ गते । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ८, ९ र १० का वडा अध्यक्षहरुले कोठे उपभोक्ता समिति गठन गरेको भन्दै स्थानियवासीहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । खाँडाचक्र नगरपालिकाको वडा नं. ८, ९ र १० मा पर्ने पिलीदेखी चियानीमेलासम्मको ग्रामिण कृषि सडक निर्माण उपभोक्ता समिति गठन गर्दा त्यहाँका स्थानिय उपभोक्ताहरुको भेला नै नगरी ३ वटा वडाका वडा अध्यक्ष तथा केही व्यक्तिहरुको उपस्थितिमा उपभोक्ता समिति गठन गरिएको भन्दै स्थानियले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् ।

पिलीदेखी चियानीमेला सम्मको ग्रामिण कृषि सडक निर्माणका लागि तीन वटै वडाहरुले १०∕१० लाख गरी जम्मा ३० लाख बजेट बिनियोजन गरेका छन् । खाँडाचक्र नगरपालिका वडा नं. १० निवासी स्थानिय मनजीत शाहीले आफुहरुले उपभोक्ता समिति गठन भएको तीन महिना पछि पेश्की लिएपछि मात्र थाहा पाएको बताए । उनले माघमा गठन भएको उपभोक्ता समिति चैत महिनाको अन्तिममा १४ लाख पेश्की लिएर कामको सुरुवाती गरेपछि पिलीदेखी चियानीमेला सम्मको ग्रामिण कृषि सडक निर्माण उपभोक्ता समिति गठन भएको जानकारी पाएर उजुरी गरेको बताए । खाँडाचक्र नगरपालिकामा आफुहरुले दिएको उजुरीको सुनुवाई नभएपछि प्रशासनमा उजुरी दिएको उनको भनाई छ ।

प्रमूख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले नियम बिपरीत गठन भएको उपभोेक्ता समितिलाई काम नगराउन र प्रक्रिया पुर्याएर काम संचालन गर्न पत्र पठाएको बताए । उनले प्रशासनमा स्थानियले दिएको उजुरीमा भएको श्रेष्ताहरु हेर्दा प्रक्रियागत रुपमा उपभोक्ता समिति गठन नभएको बताए । उनले भने, कुनै पनि विकासी योजनाहरुको उपभोक्ता समिति गठन गर्दा त्यस योजना उपभोग गर्ने आसपासका सबै नागरिकहरुको भेलाबाट गठन गरिनु पर्छ । तर यसमा त्यसो भएको छैन् । खाँडाचक्र नगरपालिका उप प्रमूख बिजया बिष्टले त्यसबारे आफुहरुलाई कुनै जानकारी नआएको बताईन् । प्रक्रियागत रुपमै उपभोक्ता समिति गठन भएको जानकारी पाएको विष्टले जिकिर गरिन ।