गोली प्रहारमा संलग्न ४ जना प्रहरीद्वारा सार्वजनिक (भिडियो सहित)


१३ फागुन, सुर्खेत । हिजो १२ वीरेन्द्रनगर १ को गैरी चोकमा नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गोली प्रहार गर्नेहरुलाई आज जिल्ला प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

प्रहरीले आज कैलालीकाे गौरीगंगा नगरपालिका २ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरत भुल, वीरेन्द्रनगर ४ का ३७ वर्षीय राजन गिरी र भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसिपनका मोहल्लाका १९ वर्षीय रोहित राजपुत पक्राउ गरि सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न अन्यलाई खोजी गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार गाेली प्रहार गर्ने इन्द्र विक भरत भुल र भारतिय नागरिक रोहित राजपुत फागुन ७ गतेदेखि वीरेन्द्रनगर नगरपालिका ४ स्थित गणेश होटेलमा बास बसेका थिए । घटनामा प्रहरीले १ थान कटुवा पेस्तोल र भे ५ प ६०६१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

घटनाका बारे थप अनुसन्धान जारी रहेको र शंकितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।