
नेपालगन्ज (बाँके) । चलचित्र पत्रकार सघं नेपाल बाँकेले र नृत्य निर्देशक एवम् कलाकार नवराज सुवेदी र पत्रकार साबित्री गिरीलाई जेष्ठ ४गते आइतवार सम्मान गरेको छ ।
राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एवम् चलचित्र पत्रकार सघं नेपालको २६औँ राष्ट्रिय वार्षिकोत्सवको अवसरमा नृत्य निर्देशक एवं कलाकार सुवेदी र पत्रकार सावित्रीलाई सम्मान गरिएको हो ।
बाँकेलाई कर्मथलो बनाउँदै नेपाली कला, संस्कृति, गीत, संगीतको विकासमा योगदान पुर्याउँदै आउनु भएका नृत्य निर्देशक एवं कलाकार सुवेदी र मोफसलमा रहेर नेपाली चलचित्रको विकासमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याउँदै आउनु भएकी साबित्री गिरीलाई सम्मान गरिएको छ । चलचित्र पत्रकार सघं नेपाल बाँकेका अध्यक्ष रामचन्द्र पौडेलेको अध्यक्षतामा, कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋर्षि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, पूर्व अध्यक्ष नीरज गौतम लगायतले सम्मान गर्नु भएको थियो ।
सम्मान कार्यक्रममा नृत्य निर्देशक नवराज सुवेदीले स्थानीय स्तरमा सिमित स्रोत साधनको प्रयोग गर्दै नेपाली गीत संगीतको क्षेत्रमा आफुले गरेको कर्मले सम्मानको हकदार बनाएको बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘‘मलाई यो सम्मानको हकदार ठान्नु भएकोमा चलचित्र पत्रकार संघ नेपाल बाँके परिवारलाई धन्यवाद दिन चाहन्छु । गीत, संगीतका क्षेत्रमा लागेको हामी जस्ता कलाकारको लागि यो सम्मान महत्वपूर्ण छ । यसले अझ राम्रो काम गर्न मलाई उत्प्रेरित गरेको छ ।’’ यसरी सम्मान पत्रकार सबित्री गिरीले नेपाली पत्रकारितामा महिलाहरुलाई निरन्तरता दिन धेरै संघर्ष गर्नु परेको अनुभव सुनाउँदै हिम्मतका साथ काम गरे सफलता हासिल गर्न सकिने बताउनु भएको थियो । उहाँले ‘‘सबैभन्दा मुख्य कुरा लगनशीलता र हिम्मत हो । महिलाहरुलाई पत्रकारितामा टिक्न सहज छैन । काम गर्न सके अवसर पनि छन् ।’’
नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले बाँकेमा चलचित्र क्षेत्रमा सक्रिय पत्रकारहरुले विधागत पत्रकारितालाई फराकिलो बनाउँदै लगेको भन्दैं धन्यवाद दिनुभयो । नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष गिरीले पत्रकारले विधागतरुपमा आफुलाई अब्बल बनाउँदै लगे भविष्यमा त्यसको थुप्रै फाइदा हुने बताउनु भयो । आयोजक चलचित्र पत्रकार सङ्घ नेपाल बाँके अध्यक्ष पौडेलले चलचित्र पत्रकारितालाई फराकिलो बनाउन बाँकेमा वर्षभरी विभिन्न कार्यक्रम गर्ने योजना सहित काम गरिरहेको बताउनुभयो । पौडेलले बाँकेमा बसेर मोफसलका समाचार प्रसारण गर्नुहुने सम्पूर्ण पत्रकारलाई धन्यवाद व्यक्त गर्नु भएको छ । सम्पन्न कार्यक्रममा अग्रजहरुबाट पाएको सुझावलाई आत्मसाथ गर्दै थप चलायमान गराउने जिकिर गर्नु भएको थियो ।
Prawash Kumar Shakya । ६ जेष्ठ २०८२, सोमबार १३:०६ बजे