जनमत रक्तदान कार्यक्रमको ५९ औं श्रृङ्खलामा ४० जनाले रक्तदान गरे



पवन जायसवाल ।
२६ फागुन, बाँके । बाँकेको नेपालगन्जबाट प्रकाशित जनमत अर्ध साप्ताहिक पत्रिकाको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको समन्वय, सिद्धबाबा हार्डवेयर तथा स्टार पोलिपाइप प्रा.लि.को सहयोगमा त्रैमासिक रक्तदान कार्यक्रममा ६ महिला सहित ४० जनाले रक्तदान गरेका छन् ।

आज (शनिवार) आयोजित रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, खेलाडी लगायत नियमित स्वयंसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो । नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके, सिद्धबाबा हार्डवेयर स्टार पोलिपाइप प्रालिका सञ्चालक कमल कुमार कार्कीले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।

वि.सं. २०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको त्रैमासिक रक्तदान कार्यक्रममा ५९ औं श्रृङ्खलासम्म करीब ३ हजार पिन्ट भन्दा बढी स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् । स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।