१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले १७ औँ गणतन्त्र दिवसको शुभकामना दिनुभएको छ । सन्देशमा मुख्नेयमन्त्री कँडेलले सन्देशमा नेपाली जनताले विजय प्राप्त गरेको यस अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र संमृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लागि भएका संघर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने सबै अग्रजप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आम जनसमुदाय‚ नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू एवम् सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसा गर्दछु।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं।जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन पनि हो ।
गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव पनि हो । यस उत्सवमा म सबैमा हार्दिक बधाइ एवम शुभकामना व्यक्त गर्दछु।
व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता हो । यस युगान्तकारी परिर्वतनको आयामलाई सामाजिक आयामसंग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्छ ।
लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र संमृद्धिका तीनवटै आयामहरुलाई समूचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता हो । जनतालाई केन्द्र बिन्दुमा राखेर जनताको इच्छा र जनताका लागी संचालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ ।
अन्तमा, आजको यस ऐतिहासिक दिवसले राष्ट्रिय सार्वभौमिकता‚ स्वाधिनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको संमृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस् । गणतन्त्र दिवसको पुनः हार्दिक शुभकामना । उल्लेख गरिएको छ ।




Prawash Kumar Shakya । १५ जेष्ठ २०८१, मंगलवार ०९:१२ बजे