
५ श्रावण, गोरखा । दानमा दिएको रगत सम्वन्धित विरामीले निःशुल्क पाउनु पर्छ भन्दै सरकारलाई ध्यानाकर्षण गराउँदै आउनुभएका नेपालका शतक रक्तदाता/रक्तसम्राट एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आज नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला शाखाकाे आयाेजना एवं गाेरखा नगरपालिका नगरप्रमुख कृष्णबहादुर रानामगरकाे प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा १ सय ७९ औं पटकको रक्तदान गर्नुभएको हो ।
रक्तदान गर्नुहुँदै शतक रक्तदाता कर्माचार्यले पहिलेको तुलनामा स्वयंसेवी रक्तदाता बढेपनि विरामी संख्या पनि बृद्धी हुँदै गईरहेकोले अहिले देशभर रगत आभाव भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “४५ केजी तौल भएका प्रत्येक स्वस्थ यूवाहरुले आफ्नो १८औं जन्मोत्सव सँगै मानव जीवन बचाउन रक्तदानमा लाग्न म आग्रह गर्दैछु । त्यस्तै यहाँ हामीले दानमा दिएको रगतको विरामीहरुले शुल्क तिर्नुपरेको छ यो कार्यलाई सरकारले सम्वोधन गर्नुपर्छ । हामीले प्रचण्ड प्रधानमन्त्री हुनुभएको वेला सरकारलाई ध्यानाकर्षण गराएका थियो तर त्यसमा कुनै सुनुवाई भएन हेरौं यो सरकारले यता ध्यान दिन्छ कि दिदैन हामी भने खबरदारीमा लागि रहने छौं ।”
शतक रक्तदाता कर्माचार्यले यूवापुस्तामा उत्प्रेरणा जाग्रित गराउनकालागि देशको विभिन्न ठाउँमा रक्तदान गर्दै आइरहनुभएको छ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रानाले नेपालका सर्वाधिक स्वयंसेवी रक्तदाता कर्माचार्यलाई गाेर्खालीहरूकाे तर्फबाट सार्वजनिक अभिनन्दन एवं दाेसल्ला ओढाएर सम्मान-पत्र प्रदान गरि गरिएको थियो । रक्तदाता समाज गाेरखा जिल्ला शाखाका अध्यक्ष रामबहादुर खड्काकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४१ जनाले रक्तदान गर्नुभएको थियो ।
Prawash Kumar Shakya । ५ श्रावण २०८१, शनिबार १८:२६ बजे