नेपालमा हड्डी ‘बैंक’ स्थापना हुँदै, हड्डी प्रत्यारोपण पनि हुने


११ फागुन, काठमाडौं– मृत्युपछि खेर जाने हड्डी अर्काे व्यक्तिको जीवनका लागि उपयोगी हुने भन्दै नेपालमा पनि बोन (हड्डी र जोर्नी) बैंक स्थापनाका लागि अध्ययन थालिएको छ ।  विशेष गरी हड्डी तथा र्जोनीको क्यान्सरका बिरामी, जन्मजात हड्डी बांगो भएका बालबालिक, चोटपटक लागेर हड्डी भाँचिएर नजोडिएकाहरुका लागि बोन बैंक बरदान सावित हुने राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.विनोद शेरचन बताउँछन् ।
विश्वमा रक्त प्रत्यारोपण पछि दोस्रो नम्बरमा हड्डी प्रत्यारोपण भइरहेको भएपनि नेपालमा भने विभिन्न व्यवधानका कारण यसको सुरुवात हुन सकेको छैन ।
‘क्यान्सर प्रभावित धेरै भएको ठाउँ भएकाले नेपालमा बोन बैंकको आवश्यकता छ तर कानूनी तथा अन्य अवरोधका कारण अहिलेसम्म केही गर्न सकिएन,’ डा शेरचनले भने ।  मुख्यतया यसअघि अंगदान सम्बन्धि प्रष्ट नियमकानुनको अभावमा अहिलेसम्म त्यसको स्थापना गर्न नसकिएको उनले बताए ।
 

नेपाल सरकारले हालैमात्र मानव अंगप्रत्यारोपण ऐनका विभिन्न प्रावधान  खुकुलो बनाएपछि स्थापनाको मार्ग प्रशस्त भएको हो । डा शेरचनले ट्रमा सेन्टरमा रहेको भौतिक संरचनाको प्रयोग गरी बोन बैंक स्थापना गर्ने जानकारी दिए ।
केही समयदेखि बोन बैंक स्थापनाका लागि अध्ययन अनुसन्धान थालिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सहकार्यमा अर्थाेपेडिक्सहरुको समूहले अध्ययन गरिरहेको हो । उक्त समूहले भारतलगायत देश पुगेर स्थापना तथा सञ्चालन सम्बन्धि ज्ञान हासिल गरिरहेको बताइएको छ । अध्ययन यही गतिमा अघि बढे आगामी ६ महिनामै पीडितहरुको यसको सुविधा लिन सक्ने डा शेरचन बताउँछन् ।
यत्तिकै खेर जाने अङ्गहरुलाई संग्रह गरी कुनै अर्को बिरामीमा ट्रान्सफर गर्नुपर्ने भएकाले किड्नी दान तथा कलेजो दान जस्तो जटिल प्रक्रिया झेल्नु नपर्ने डाक्टरहरु बताउँछन् । मृत्युपश्चात् दान गरिने हड्डी तथा जोर्नीको विभिन्न परीक्षण पछि अर्काेमा प्रत्यारोपण गरिन्छ ।

हाल नेपालमा बिरामीको  शरीरको कुनै भागमा हड्डी परिवर्तन गर्नुपर्यो भने बिरामीको अन्य अङ्गबाट निकालेर पूर्ति गरिन्छ । भाँचिएर जोडिन नसकेको ठाउँमा कम्मर वा जोर्नीको हड्डी लिएर काम चलाउनुपर्ने अवस्था रहेको डाक्टरहरु बताउँछन् । त्यसैगरी कतिपय अवस्थामा कृत्रिम हड्डीको प्रयोग गर्नुपर्ने अवस्था छ । शरीरको कुनै भागमा क्यान्सर भएमा त्यो  भाग काटेर फाल्नुको विकल्प नरहेको डा शेरचन बताए ।
अर्थोपेडिक सर्जनहरुको समूहको प्रारम्भिक अध्ययनबाट बोन बैंकको स्थापनासहजै गर्न सकिने देखिएको छ । आर्थिक रुपमा पनि धेरै खर्चिलो नहुने भएकाले केही प्राविधिक ज्ञान र उपकरणको व्यवस्था हुनेबित्तिकै सञ्चालनमा ल्याउन सकिने भएको हो । ‘राजधानी बाहिर पनि अर्थाेपेडिक्स विशेषज्ञ र विभाग रहेको ठाउँमा बोन बैंकको स्थापना गर्न सकिन्छ,’ डा. शेरचन भन्छन् ।

सरकारी स्तरबाटै हड्डी बैंक मात्रै नभइ संग्रह गरेर राख्न सकिने मानव अंगको बैंकका लागि अघि बढ्नुपर्ने डाक्टरहरु बताउँछन् ।

साभारः स्वास्थखबर पत्रिका