महिला पत्रकारहरुलाई राज्यले प्रोत्साहन गर्न जरुरीः मन्त्री कुर्मी


पवन जायसवाल ।

१६ भाद्र, नेपालगन्ज (बाँके) । लुम्विनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले पत्रकारिता क्षेत्रमा लागेका महिलाहरुलाई राज्यले प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भएकोछ । नेपाल प्रेस युनियन बाँकेले तीजको अवसरमा सात जना महिला पत्रकारहरुलाई  लेखनवृत्ति पुरस्कार प्रदान कार्यक्रममा मन्त्री कुर्मीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नु भयो,‘पत्रकारिता गर्न सहज छैन । यस क्षेत्रमा लागेको महिलाहरुलाई प्रोत्साहन गर्न प्रेस युनियनले राम्रो कामको सुरुआत गरेको छ । यसको निरन्तरताको कामना गर्दछु ।’ आम पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति सत्य र सहि समाचार पहिचान गरेर मात्र सम्प्रेण गर्दा समाजमा सकारात्मक प्रभाव पार्ने मन्त्री कुर्मीले बताउनु भयो ।

महिला पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागी आयोजना गरिएको महिला पत्रकार लेखनवृत्ति प्रतियोगितामा ‘अपाङ महिलाहरुको तीजः चाडको रौनक भन्दा परेको संघर्ष’ शिर्षकको सरला सुवेदीले लेखेको फिचर स्टोरी प्रथम, ‘आर्थिक उन्नतिको सहयात्री बनिरहेका नारी’ शिर्षकमा सावित्रा विश्वकर्माले लेखेको फिचर स्टोरी दोस्रो र ‘तीज पर्वको परम्परागत मुल्य र आधुनिक प्रभाव’ शिर्षकमा आरती कंटेलले लेखेको लेख तेस्रो भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार, दोस्रो हुनेलाई ३ हजार, तेस्रो हुनेलाई २ हजार र सान्त्वना बिमला चौधरी, ममता थापा, साहिदा बानो र शिवानी विकलाई जनही १ हजार रुपैया प्रदान गरिएको थियो ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालले महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नको लागि गत वर्ष सुरुआत गरिएको कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भएको थियो । त्यस्तै कार्यक्रम संयोजक नेपाल प्रेस युनियन बाँके उपाध्यक्ष निशा शाहले तीजको अवसरमा आयोजना गरिएको लेखनवृत्ती प्रतियोगिताले महिला पत्रकारहरुमा नयाँ उत्साह जगाएको बताउनु भएको थियो ।