सुर्खेत उद्योग वाणिज्य संघद्वारा क्रिकेट खेलाडी विपिनलाई सम्मान


सुर्खेत उद्योग वाणिज्य संघले क्रिकेट खेलाडी विपिन शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आज (बुधबार) संघमा आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष लक्ष्मण कंडेललगाएतका पदाधिकारीले नगद ५ हजार, दोसल्ला र प्रंशसापत्रसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष कंडेलले खेलकुदको माध्यमबाट कर्णालीलाई राष्ट्रियस्तरमा परिचित गराएकोमा विपिनलाई धन्यवाद दिंदै अब अन्तर्राष्ट्रियस्तरमा कर्णालीको नाम र गौरव उँचो बनाउन शुभकामना दिनुभयो । ‘कर्णालीको पहिचान र गौरव भनेकै खेलकुद हो भन्ने हाम्रो मान्यता छ ।’ विपिनजस्ता थुप्रै प्रतिभावन खेलाडी कर्णालीले जन्माउने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, कर्णालीलाई खेलकुदको राजधानी बनाउने निजी क्षेत्रको प्रयास निरन्तर रहनेछ । संघको सदस्यका सन्ततीले विभिन्न क्षेत्रमा उन्नति प्रगति गर्दा समग्र संघको पनि गर्व र गौरव बढ्ने अध्यक्ष कंडेलको भनाई छ ।

संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेतले आसन्न प्रधानमन्त्री कपको तयारीमा रहेका खेलाडी शर्मालाई थप मिहिनेत र सफलताका लागि सुझाव तथा शुभकामना दिनुभयो । सम्मान पाएपछिको खुशीयाली बाँड्दै शर्माले खेलकुदमा गरेको लगानी कहिल्यै खेर नजाने भन्दै अहिलेदेखि नै आफ्ना बालबालिकाको खेलप्रतिभामा पनि लगानी गर्न आग्रह गर्नुभयो ।
खेलमात्र एउटा यस्तो क्षेत्र हो जहाँ गरिएको लगानी कहिल्यै खेर जाँदैन । विपिनले भन्नुभयो, लगानी अनुसार बच्चा या त राम्रो खेलाडी भएर निस्कन्छ या त अनुशासित युवा भएर ।
नेपाल क्रिकेटसंघ (क्यान) को आयोजनामा मिति २०८१ मंसिर १५ देखि पुष ६ गतेसम्म चलेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगको फ्रेञ्जाइजी कर्णाली याक्सका खेलाडी छनौट हुनुभएको थियो ।

कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट आइकोनिक प्लयेरका रुपमा छानिएका शर्माले प्रतियोगिता अवधिभर अन्तर्राष्ट्रिय खेल खेलीसकेका अनुभवी खेलाडीसमेतको गरी कूल १३ विकेट लिंदै उदियमान खेलाडी बन्नु भएको थियो ।