खेल फ्रान्समा, जुवा नेपालमा


असार १, २०७३- फ्रान्समा चलिरहेको युरोकप फुटबल प्रतियोगिताको मंगलबार रातिका दुई खेलका सम्भावित नतिजामा जुवा खेल्नेहरूका लागि एजेन्टले आफ्ना सदस्यलाई साँझ ५ बजे पठाएको रेट यस्तो थियो–

अस्ट्रिया ०.७०, हंगेरी ४, बराबरी २.४०
पोर्चुगल ०.५०, आइसल्यान्ड ६, बराबरी २.८०

पहिले–पहिले मोबाइलमा नै पठाउने गरिएको यस्तो रेट अहिले प्रहरीको डरले ह्वाट्स एप, भाइबरमा पठाउने गरिएको छ ।

खेल जहाँसुकै, जुनसुकै टिमका बीचमा होस्, अलि ठूलो प्रतियोगिता छ भने जुवा खेलाउने गिरोह सक्रिय भइहाल्छ ।

खेल सुरु हुनु एक घण्टा अगाडिदेखि हुने पूर्वानुमानको जुवा नतिजा नआएसम्म चलिरहन्छ । खेल सुरु भएसँगै जब कुनै टिमले अग्रता लिन्छ वा दबाब बढाउँदै लान्छ, त्यसैअनुसार जुवाको रेट पनि परिवर्तन हुन्छ । स्थानीय एजेन्टहरू खेल अवधिभर आफ्नो सञ्जालका सदस्यलाई दररेट पठाउन व्यस्त हुन्छन् ।

पूर्वानुमानका आधारमा पैसा लगानी गरिने यो जुवामा मंगलबार खेल सुरु हुनुअघि अस्ट्रियाको पक्षमा पैसा लगाउँदा उसले खेल जिते एक लाख बराबर थप ७० हजार फाइदा हुने थियो । हंगेरीले जित्ने पूर्वानुमान मिले एक लाखको ४ लाख । खेल बराबरी हुने पक्षमा पैसा लगानी गर्नेले एक लाखको २ लाख ४० हजार पाउने ।

पोर्चुगल र आइसल्यान्डबीचको दोस्रो खेलको दर पनि उस्तै हो । पोर्चुगल पक्षधरले एक लाख लगाउँदा खेल जिते थप ५० हजार थपिएर आउँछ भने, खेल हारे एक लाख जान्छ । आइसल्यान्डको पक्षमा नतिजा आए १ लाख लगानीमा थप ६ लाख आउँछ भने बराबरी भए २ लाख ८० हजार फाइदा ।

युरोकप मात्रै हैन संयुक्त राज्य अमेरिकामा चलिरहेको कोपा अमेरिकामा समेत जुवा खेलाउने ‘सट्टेबाज’ को समूह पनि नेपालमा उत्तिकै सक्रिय छन् । अहिले नेपाली समयअनुसार राति युरोकप र बिहान कोपा अमेरिकाका खेलहरू भइरहेका छन् ।

जुवामा पैसा लगाउन इच्छुकले आफ्नो सम्पर्कमा रहेका स्थानीय एजेन्टलाई आफूले पैसा लगाउन चाहेको टिमको नाम र रकम लेखेर सन्देश पठाए पुग्छ । कोपा अमेरिका कप सुरु भएदेखि नै सट्टा खेलाउँदै आएका एक स्थानीय एजेन्टका अनुसार पैसा रुपैयाँमा मात्रै हैन, भारतीय रुपैयाँ र अमेरिकी डलरसमेत स्वीकार्य हुन्छ ।

यस्तै एक एजेन्ट हुन् सागर खड्गी र दीपकरत्न शाक्य । महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार यी दुवै सुन्धारास्थित आरबी कम्प्लेक्सको कोठा नम्बर १३३ बाट युरोकपको खेल सट्टा खेलाउन सक्रिय थिए ।

सोमबार बेलुका भएको युरोकपको सट्टा खेलाएको पैसा संकलन गर्दागर्दै यी दुवैलाई जनसेवा प्रहरीले २ लाख ४५ हजार रुपैयाँसहित पक्राउ गरेको छ । उनीहरूबाटै काठमाडौंमा फैलिएको सट्टाको जालो केलाउने प्रहरीको प्रयास छ ।

‘अहिलेसम्मको अनुसन्धानमा आरबी कम्प्लेक्स, न्युरोड, सिटी सेन्टर, ताम्राकार हाउस, ठमेल, दरबारमार्गका होटल, रेस्टुरेन्टमा सट्टा खेलाउने स्थानीय एजेन्ट सक्रिय छन्,’ जनसेवाका प्रमुख डीएसपी विनोद घिमिरेले भने, ‘मुख्य एजेन्ट पहिचान भए पनि पक्राउ गर्न सकिएको छैन ।’

घिमिरेले यस अगाडि इन्डियन प्रिमियर लिग (क्रिकेट) मा सट्टा खेलाउने समूहसमेत पक्राउ गरेका थिए ।

पक्राउ परेका स्थानीय एजेन्टको सम्पर्क जालोका आधारमा भारतको दिल्लीमा बसेका व्यक्तिले नेपाली सहयोगी खटाएर सट्टा खेलाउने गरेका छन् ।

भारतमा रहेको मुख्य एजेन्टले नेपालमा भारतीय नागरिकलाई नै मुख्य एजेन्टका रूपमा परिचालन गरेको र ती भारतीयले नेपालीलाई स्थानीय एजेन्टका रूपमा खटाएको खुलेको डीएसपी घिमिरेले जनाए ।

दिल्ली, दुबई र सिंगापुर

नेपालमा फैलिएको सट्टाको जालोबारे अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारीका अनुसार क्यासिनो, ठूला होटल र अपार्टमेन्टबाट सट्टा खेलाउने समूह सक्रिय छन् ।

प्रारम्भिक अनुसन्धानमा काठमाडौंमा यस्ता ७ समूह सक्रिय छन् । एक समूहमा ५० जनादेखि ५ सय जनासम्म हुने र एकै दिनमा एक समूहले न्यूनतम ५० लाखसम्म संकलन गर्ने गरेको ती अधिकारीले दाबी गरे ।

दिल्ली, दुबई र सिंगापुरमा सक्रिय अन्तर्राष्ट्रिय समूहले नेपालका ठूला समूहसँग मिलेर जुवा खेलाउने गरेको र नेपालमा संकलन हुने पैसा हुन्डीबाट बाहिरिने गरेको ती अधिकारी बताउँछन् ।

तत्काल कारबाही प्रक्रियामा जाँदा स्थानीय एजेन्ट मात्रै फेला पर्ने भएकाले अहिले प्रहरी व्यक्तिको पर्खाइमा रहेको पनि उनले बताए । ‘मुख्य एजेन्ट प्राय: नेपाल बाहिरै रहने हुँदा अपरेसनको सकारात्मक नतिजा आउन सकेको छैन,’ उनले भने ।

संगठित अपराध, फितलो कानुन
फुटबल र क्रिकेटको विश्वकपको समयमा नेपालमा सट्टा कारोबारी सक्रिय हुने गरे पनि पछिल्लो समय क्रिकेट र फुटबलका क्षेत्रीय प्रतियोगिताहरूमा समेत उनीहरू सक्रिय हुन थालेका छन् ।

यस अगाडि दुबईमा रहेका सट्टा कारोबारीमार्फत अन्तर्राष्ट्रिय रेट लिनुपर्ने, सट्टा खेलाउन पहिला नै डिपोजिट राख्नुपर्ने र फोनको आधारमा सञ्जाल चलाउँदा सहजै प्रहरीको नजरमा पर्ने भएकाले सट्टा खेलाउने समूह थोरै थिए ।

नयाँ–नयाँ प्रविधि आएसँगै सञ्जालका सदस्यसँग सहजै सम्पर्क गर्न सक्ने भएपछि पछिल्लो समय सट्टा खेल्ने र खेलाउने दुवै संख्या बढेको छ । एक स्थानीय एजेन्टका अनुसार एसएमएसका आधारमा प्रहरीले सहजै ट्रयाक गरेपछि युरो र कोपाकपमा ह्वाट्स एपको प्रयोग बढेको छ ।

अन्तर्राष्ट्रिय रेट लिन र स्थानीय एजेन्टले आफ्नो सञ्जालका सदस्यलाई रेट पठाउन ह्वाट्स एपको मात्रै प्रयोग हुन्छ । सट्टा समूहमा प्रवेश गर्ने नयाँ सदस्यको हकमा पुरानो सदस्य ग्यारेन्टी नबसी सञ्जालमा प्रवेश पाइँदैन ।

स्थानीय एजेन्टले दुबई र भारतको दिल्लीमा रहने मुख्य एजेन्टलाई कुन समूहमा कति रकम लगानी भएको छ भन्ने विवरण पठाउँछन् । खेलको नतिजा आएपछि संकलित रकममध्ये हारेको रकम राखेर जित्नेलाई स्थानीय एजेन्टले नै पैसा दिन्छन् । प्रतियोगिताको अन्तिम नतिजापछि समूहगत रूपमा हिसाब हुन्छ ।

काठमाडौंपछि वीरगन्ज सट्टा खेलाउन अगाडि छ । नेपालगन्ज, पोखरा, धरानसम्म सट्टा खेलाउनेको जालो पुगिसकेको छ । तर प्रभावकारी कानुन नहुँदा यसलाई नियन्त्रण गर्न नसकिएको प्रहरीको भनाइ छ ।

साभारः कान्तिपूर अनलाइन