२४औ सशस्त्र प्रहरी दिवस–२०८१ मा रक्तदान तथा निःशुल्क स्वास्थ्य चेकजाँच


पवन जायसवाल

नेपालगञ्ज (बाँके) । सशस्त्र प्रहरी बल नेपाल, सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँकेको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“२४औ सशस्त्र प्रहरी दिवस–२०८१” को अवसरमा एक दिने क्यान्सर निदान निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्ट र बैजनाथ गाउँपालिका प्रमुख प्रकाश शाहले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगञ्जका राजेन्द्र महतरा, सुनिल रत्गैया र नबीन जायसवाललाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्ट, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेका डा. निरज भट्टराई र सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ताका सशस्त्र प्रहरी जवान लगायतल १ सय भन्दा बढीले रक्तदान गर्नुभएको थियो भने प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका राजेन्द्र महतरा, होमराज गिरी, सुनिल रत्गैया, महेश राना क्षेत्री, नबीन जायसवाल, सञ्जय बढही, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

यसैगरी निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ७६ जनाले स्वास्थ्य जाँच गराएका थिए । कार्यक्रममा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेका निर्देशक डा.प्रकाश प्रसाद शाह, डा. निरज भट्टराई (कार्डियो भासकुलर सर्जन), डा. सुभाष मेहता (बालरोग बिशेषज्ञ), डा. प्रबीण गुप्ता( यू्रो सर्जन), नाक, कान घाँटीरोग बिशेषज्ञ डा. रवि स्वाँर, स्त्रीरोग बिशेषज्ञ डा. इन्द्रनील घोष, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका सूचना अधिकारी राम बहादुर हमाल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ताका समादेशक (एस.एस.पी) गंगाराम श्रेष्ठ, कार्यक्रम संयोजक एस.पी. सञ्जय भट्टराइृ लगायतको सहभागिता रहेको थियो ।

यसरी कार्यक्रममा सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेका निर्देशक डा. प्रकाश प्रसाद साहले बहालवाला र अवकाश प्राप्त सशस्त्र प्रहरी बल, नेपाल सशस्त्र प्रहरी जवान तालिम शिक्षालय नौबस्ता बाँकेका पदाधिकारी तथा जवानहरुको उपचारमा २० प्रतिशत छुट गरिने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँके, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, सशस्त्र प्रहरी बल नेपाल क्षेत्रीय अस्पताल, नेपाल रेडक्रस सोसाइटी बाँके प्रादेशिक रक्त सञ्चार केन्द्रको सहयोग÷समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।