जन्मदिनमा रक्तदान कार्यक्रम, ३८ पिन्ट रगत संकलन


१० माघ, कास्की । “प्रत्येक स्वस्थ यूवायूवतीहरुले आफ्नो १८औं बर्षको जन्मोत्सव सँगै रक्तदानको शुभारम्भ गरौं” भन्ने मूलनारालाई आत्मसाथ गर्दै आज (विहीवार) नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाका अध्यक्ष दिपेन्द्र अधिकारीको जन्मदिन रक्तदान कार्यक्रम गरेर मनाइएको छ ।

समाजको कास्की शाखाले रगत र रक्ततत्वको अभावमा कोहीपनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत अध्यक्ष अधिकारीले आफ्नो ४२औं पटकको रक्तदान गर्दै जन्मदिन मनाउनुभएको हो ।

समाजका अध्यक्ष दिपेन्द्र अधिकारी एवं पोखरा महानगर वडा नं. १० प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक वीरेन्द्र घिमिरेले संयुक्तरुपमा रक्तदातालाई रक्त संकलन थैली हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । त्यस्तै कार्यक्रममा कास्की शाखाका वरिष्ठ सल्लाहकार एवं गण्डकी प्रदेशका सर्वाधिक रक्तदाता जितेन्द्रमान शाक्यले आफ्नो ८७ औं पटकको रक्तदान गर्नुभएको थियो ।

अध्यक्ष अधिकारीले रक्तदानलाई जन्मदिनमा मात्र सिमित नगरी उमेर पुगेका प्रत्येक स्वस्थ व्यक्तिले ९० दिनको अन्तरालमा रक्तदान गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो “रक्तदानले मानिस स्वस्थ हुनुका साथै कुनै व्यक्तिको ज्यान पनि बचाउने कार्य भएकोले रक्तदान गर्न आवश्यक रहेको छ । “

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मृगौला रोग विशषेज्ञ डा. अमृत केसी, पोखरा महानगरपालिका १५ नं. वडा सदस्य आशिष भण्डारी, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापती डण्डराज शर्मा, नेपाल औषधी तथा विक्री प्रतिनिधी संघ पोखरा इकाइका अध्यक्ष गोपाल बस्नेत, रानीपौवा स्पोर्टस सेन्टरका सुवास बस्नेत, गिता शान्तिमार्ग टोलका विकास अध्यक्ष विष्णु तिमिल्सिना तथा प्रादेशिक रक्तसञ्चार केन्द्रका अर्जुन ज्ञवालीले आ-आफ्नो मन्तब्य राख्नुभएको थियो ।

३८ पिन्ट रगत संकलन गरिएको कार्यक्रमको सहजीकरण समाजका कार्यसमिति सदस्य हिरामणी भूषालले गर्नुभएको थियो । स्मरण रहोस् समाजको कास्की शाखाले ३ सय ६५ दिनै आपतकालिन अवस्थाका विरामीलाई तदारुक्ताका साथ रगत / रक्ततत्व तथा नयाँ रक्तदाता पहिचान गर्दै रक्तदान गर्न गराउन लागि परिरहेको छ ।