सम्भावनाको सरोवर कर्णालीः मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको बताउनुभएको  छ । आज (सोमबार) देखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको कर्णाली उत्सवको छैठौं संस्करणलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।  उहाँले कर्णाली समस्यै समस्याको खाल्डो मात्र नभई सम्भावनाको सरोवर समेत भएको जिकिर गर्नुभयो ।

मुख्यमन्त्री कँडेलले पछिल्लो पटक संघीय सरकारले कर्णालीका केही महत्वपूर्ण सडकको स्तरोन्नतिको लागि अहिलेसम्मकै धेरै बजेट विनियोजन गरेको जानकारी दिनुभयो । ‘कर्णालीको भविष्यसँग जोडिएका कर्णाली करिडोर, भेरी करिडोर, गमगढी नाक्चेनाङ्गला सडकजस्ता रणनीतिक महत्वका सडकहरुको स्तरोन्नति र सुधारमा उल्लेख्य बजेट बिनियोजन भई काम अगाडि बढने प्रक्रियामा रहेको अवस्था छ, उहाँले भन्नुभयो, अनियमित विद्युतलाई नियमित गर्न १३२ केभी विद्युत प्रसारण लाइन र सुर्खेत विमानस्थललाई स्तरोन्नति गर्ने काममा केही नीतिगत निर्णय र सुधारका कामहरु भएका छन् ।’

मुख्यमन्त्री कँडेलले कर्णालीका हरेक जिल्लामा सम्भावनाका प्रशस्त आधार रहेको औंल्याउँदै उहाँले आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर र दक्षिण व्यापारको ढोका कर्णालीमै छ । कर्णालीले मानसरोवर एवम् मध्य एसिया पुग्ने सिल्क रोडलाई प्रतिनिधित्व गर्छ । हिमाल, पहाड, नदी, वनजंगल, कृषि भूमिलगायत औषधिजन्य उत्पादनको सम्भावना कर्णालीमै छ । मानसरोवर मार्ग, फोक्सुण्डोलगायत साँंस्कृतिक र प्राकृतिक भूमिहरूले कर्णालीलाई राष्ट्रिय मात्र होइन अन्र्तराष्ट्रिय पहिचान बढाएका मद्दत गरेको बताउनुभयो ।

कर्णालीको पानी र जडीबुटी संसारकै उत्कृष्ट छ । तर यति हुँदाहुदै पनि कर्णाली भन्ने वित्तिकै दुर्गम, अभाव र विकटको पहिचान बनाउने प्रचलित मान्यता अझै यथावत रहेको टिप्पणी गरे । उनले भने, वर्षौंदेखि बनाइएको रोग भोक र शोकको नकारात्मक बिम्बले हामीलाई अझै थिचिरहेको छ, कर्णालीलाई समस्याको खाल्डो बनाउने काम भयो, सम्भावनाको सरोवर बनाउने काममा हामीले ध्यान पु¥याउन जरुरी छ ।’ मुख्यमन्त्री कँडेलले भन्नुभयो ।

पूर्वाधार, पहुँच, जागरण र सुधारका सूचकहरुले कर्णाली अब हिजोको जस्तो भोक र शोकको पर्याय नभएको मुख्यमन्त्री कँडेलको भनाई छ । ‘सबै काम प्रदेश सरकारले गर्न सक्दैन र अधिकार क्षेत्रभित्र पनि पर्दैन् । आफनो अधिकार क्षेत्र पर्ने कामहरु इमान्दारिता पूर्वक गर्ने र आफ्नो अधिकार क्षेत्र बाहिरका विषयहरु संघीय सरकारलाई महशुस गराउने दृढ अभियानमा म लागिरहेको छु, उहाँले भन्नुभयो ।

एक फरक प्रसंगमा मुख्यमन्त्री कँडेलले लोकतन्त्रको विकल्प अझ सहभागितामूलक उन्नत लोकतन्त्र नै रहेको विचार व्यक्त गर्नुभयो । ‘यसको विकल्पमा पारिवारिक र वंश परम्पराको शासन व्यवस्था कदापी हुन सक्दैन, व्यक्तिका तमाम कमजोरीहरु होलान, सत्ता संचालन र शासनमा आमूल सुधारको अपेक्षा होला, त्यसलाई अन्यथा मान्दैन, उहाँले भन्नुभयो, आवधिक निर्वाचन मार्फत सार्वभौम नागरिकले त्यस्ता व्यक्तिलाई जनमतबाटै तिस्कार गर्न सक्ने हामीले व्यवस्था गरेका छौँ । तर व्यक्ति विशेषका कमजोरीलाई लिएर व्यवस्थाप्रति घृणा फैलाउने र नागरिकलाई राज्यप्रति वितृष्णा जगाउने कामले न व्यवस्था बलियो हुन्छ न नागरिकले सन्तुष्टी प्राप्त गर्न सक्दछन् ।’

त्यस्तै कर्णाली उत्सवको छैटौं संस्करणको उद्घाटन समारोहमा बोल्दै वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले तीन वटै तहका सरकारले रोजगारी र उत्पादनसंग सम्बन्धित कार्यक्रमलाई जोड दिनुपर्ने बताउनुभयो । वैदेशिक रोजगारले तत्कालीन आवश्यकतालाई मात्र व्यवस्थापन गर्ने भएकाले दिगो विकासका लागि स्वदेशमै उद्यमशिलता र उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाई थियो । ‘जे कामका लागि युवाहरु विदेश गएका हुन्, त्यो कामको लागि सीप, तालिम नहुनु र त्यसको अवस्थालाई बुझ्न नसक्दा थुप्रै युवाहरुले समस्या भोग्नुपरेको छ, उहाँले भन्नुभयो, त्यसैले सकेसम्म रोजगारीमा जानुपूर्व सीप सिकेर जानुपर्छ, तालिम लिएर मात्र जाने कुरामा सचेत गराउनुपर्छ ।’

नेपाल सरकारका पूर्व सचिव केवलप्रसाद भण्डारीले कर्णालीमा निरन्तर एउटा सामाजिक संवादको शृङ्खला सुरु गरौँ भनेर कर्णाली उत्सव सुरु गरिएको बताउनुभयो । ‘कर्णालीका समस्याहरुलाई राष्ट्रिय समस्याका रुपमा स्थापित गर्नका लागि पनि यस्ता खालका बहसहरु उपयुक्त हुन्छन्, उहाँले भन्नुभयो, नीति बहस निकै आवश्यक हुन्छ । पछाडि परेको वर्ग समुदायलाई माथि उठ्नका लागि यस्ता खालका बहसले निकै मद्दत पुग्छ ।’