कर्णाली छोरी सम्मेलन-२०८२को तयारी पुरा


भोली बैशाख २७-२९ गते कर्णाली प्रदेशको राजधानीमा सञ्चालन हुने त्रिदिवसीय “कर्णाली छोरी सम्मेलन-२०८२” को तयारी पुरा भएको आयोजक श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।

एक विज्ञप्ती मार्फत कर्णाली प्रदेशमा आयोजना हुन लागेको यो छोरी सम्मेलन यस स्वरूप र प्रकृतिको पहिलो सम्मेलन भएको आयोजकले जनाएको हो । विज्ञप्तीमा फाउण्डेसनका अध्यक्ष ज्योती कटुवालका अनुसार “कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सवल, सक्षम तथा आत्मनिर्भर कर्णालीका छोरीहरूको निर्माण र विकासमा सघाउ पुर्याउनु हाम्रो उद्धेश्य रहेको छ । यो सम्मेलन एक सम्मेलन मात्र नभएर कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र स्वप्निल बन्न सिकाउने एक सामाजिक सन्देश प्रवाह गर्ने जमर्को हो ।

यो सम्मेलन कर्णालीका छोरीहरू सशक्तिकरणको एक गतिशील अभियान हो । कर्णालीका छोरीहरू आफैंमा कमजोर नभई अधिकार र अवसरबाट बन्चित भएको कारणबाट नै कमजोर देखिएका हुन् भन्ने वास्तविकताको वोध गर्नु र गराउनु पनि यस सम्मेलनको मूल द्येय हो । कर्णालीका छोरीहरूलाई आफ्नो हक र अधिकार बोध गराउने र तिनीहरूको जीवन रूपान्तरणको माध्यमबाट कर्णालीको समुज्ज्वल भविष्यको चित्र कोर्ने अभिप्रायले आयोजना हुन लागेको यस सम्मेलनमा कर्णाली प्रदेशका सम्पूर्ण ७९ वटा स्थानीय तहबाट २र२ जना प्रतिनिधिहरू तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाटथप दुई दुईजना गरि  करिब २०० जना छोरीहरूको सहभागिता रहने छ ।

आ-आफ्नो स्थानीय तह, क्षेत्र तथा समुदायको प्रतिनिधित्व गर्ने छोरीहरूले यस सम्मेलनमार्फत आफ्ना आवाजहरू मुखरित गर्ने अवसर पाउँने छन् ।

सम्मेलनमा हरेक दिन छोरीका मनका कुरा, प्रवचन तथा बहस कार्यक्रमहरू संचालन हुनेछन् । ‘छोरीका मनका कुरा’ शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाईहरू सुनाउने छन्। यसका साथै सिर्जनशील छोरीहरूलाई उनको प्रतिभा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिने छ ।

प्रवचन कार्यक्रममा ‘छोरीहरूको जीवन रूपान्तरण’ शीर्षकमा विज्ञ व्यक्तित्वबाट व्याख्या, विश्लेषण हुनेछ । सम्मेलनमा हरेक दिन बिभिन्न शीर्षकमा बहस सत्रहरू संचालन हुनेछन् । बहसकाविषयहरू छोरीहरूको सशक्तीकरण र जीवन रूपान्तरणसंग संवन्धित हुनेछन् । बहस सत्रहरूहरूमा राजनीतिमा कर्णालीका छोरी, शिक्षित छोरी किन जरूरी, स्वस्थ छोरी, स्वस्थ कर्णाली, कर्णालीका सारथि, कानुनी सेवामा कर्णालीका छोरी, कर्णालीका खेलाडी छोरी, महिनावारीका सकस, आमाका कुरा, महिनावारीको सकस, हामी सक्छौं तथा कर्णालीका कोइली, कर्णालीका न्याउली शीर्षकहरूमा बहस हुनेछ ।

बहस सत्रहरूमा वक्ता तथा सहजकर्ताका रुपमा विषय विज्ञ व्यक्तित्वहरूको सहभागिता रहने छ । प्रायः सबै सत्रहरूमा कर्णालीलाई जन्मथलो, थातथलो र कर्मथलो बनाउने कर्णालीका सन्ततीहरूलाई मौका दिईएको छ ।

यो सम्मेलन पहिलो संस्करण हो । हरेक साल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा ‘कर्णाली छोरी सम्मेलन’ को आयोजना हुने ब्यहोरा जानकारी गराईन्छ । यसपटक मौका नपाएका कर्णालीका छोरीहरूले अर्कोपटक मौका पाउने छन् ।

कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय र श्री ज्योति फाउन्डेसनको संयुक्त आयोजनामा हुने यस सम्मेलनमा कर्णाली प्रदेशका सबै स्थानीय तहहरूले आ-आफ्ना स्थानीय तहबाट महिला प्रतिनिधिहरू पठाएर सहयोग गर्नुका साथै कतिपय स्थानीय तहहरूले आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको ब्यहोरा अनुरोध गरिन्छ । कार्यक्रमको संचालनमा सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै सहयोगी, सहयात्री र एक गरेका सबै गतिविधि पारदर्शी तवरले सार्वजनिक गरिनेछ ।