उच्च अदालतको आदेश : कामनपा प्रहरी प्रमुख पाण्डे पुनः पदमा फर्किने


फोटोः अन्नपूर्णपोष्टबाट

काठमाडौं, असार ४ – काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गर्नुभएको निलम्बनविरुद्ध पाण्डेले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश दिँदै उनलाई पदमा रही कामकाज गर्न दिन भनेको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो । अदालतको आदेशमा भनिएको छ, “महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई भए पनि सोही आधारमा तुरुन्तै निलम्बन गर्नु पर्ने अवस्था देखिँदैन ।”

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नुभएपछि त्यसविरुद्ध पाण्डेले असार २ गते उच्च अदालत पाटनमा उत्प्रेषणको रिट दायर गर्नुभएको थियो ।

अदालतको आदेशमा थप भनिएको छ, “सुविधा र सन्तुलनको दृष्टिकोणले उल्लेखित जाँचबुझ समितिको काम कारबाही अघि बढाउन पाण्डेलाई तत्काल निलम्बन गर्नु पर्ने देखिएन। त्यसैले निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई कामकाज गर्न दिनु उपयुक्त हुन्छ।”

यस आदेशपछि पाण्डे पुनः काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न पाउने भएका छन् । अदालतको आदेशले महानगरभित्रको प्रशासनिक निर्णय प्रक्रियामाथि पनि थप बहस सुरु गराएको छ ।