काँक्रेविहार महोत्सव सम्पन्न, आर्थिक विकास र पर्यटन प्रवर्द्धनको सम्भावनामा जोड

“काँक्रेविहार खुला चिडियाखाना र अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्छ”- मुख्यमन्त्री कँडेल


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित ऐतिहासिक एवं पुरातात्त्विक महत्व बोकेको काँक्रेविहार परिसरमा आज विशेष रूपमा काँक्रेविहार खोज अनुसन्धान तथा पर्यटन महोत्सव सम्पन्न भएको छ । उक्त महोत्सवसँगै यूवा, बालबालिका तथा विद्यार्थी सम्मेलन समेत आयोजित गरिएको थियो ।

कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले काँक्रेविहारलाई कर्णालीको आर्थिक समृद्धिको केन्द्रको रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । “काँक्रेविहार केवल एक ऐतिहासिक सम्पदा होइन, यसमा शिक्षा, पर्यटन र रोजगारीको विशाल सम्भावना लुकेको छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो । उहाँले काँक्रेविहारलाई खुला चिडियाखानाको रूपमा विकास गर्न सके त्यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकलाई आकर्षित गर्ने उल्लेख गर्नुभयो । साथै काँक्रेविहारलाई लुम्बिनीसँग धार्मिक र सांस्कृतिक रूपमा जोड्न सके स्वदेशी तथा विदेशी पर्यटकको लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने कुरामा समेत उहाँले जोड दिनुभयो ।

महोत्सवमा सहभागी प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले काँक्रेविहारको ऐतिहासिक र पुरातात्त्विक महत्व राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा फैलाउन यस्ता कार्यक्रमले ठूलो टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ र कार्यक्रम सफल बनाउन अग्रसर सबै संघसंस्था, स्थानिय बासिन्दा र आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै सफल आयोजनाको शुभकामना व्यक्त गर्नुभयो ।

महोत्सवमा “सपनाको काँक्रेविहार” शीर्षकमा आयोजित चित्रकला प्रतियोगिता गरिएको थियो । जसमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगितामा सैनिक आवशिय महाविद्यालयकी विद्या आचार्य प्रथम, आदर्शराज मेमोरियल बोर्डिङ स्कुलकी शिवानी जायसवाल द्वितीय, र भ्याली मेरिडियन स्कुलका क्षितिज कोइराला तृतीय बन्न सफल हुनुभएको थियो । विजेताहरूलाई क्रमशः रु ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कारले सम्मान गरिएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल कमर्शियल आर्टिष्ट संघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली इन्चार्ज शाक्य आर्ट सुर्खेतका सुभाष कुमार शाक्य, कार्यवाहक अध्यक्ष देवेन्द्र सावद, तथा सदस्य सिन्धु दाहाल रहनुभएको थियो ।

यस महोत्सवले काँक्रेविहारको बहुआयामिक विकास, सांस्कृतिक संरक्षण तथा युवा पुस्तामा सचेतना जगाउने कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूको धारणा रहेको छ ।

प्रतियोगितामा प्रथम विद्या आचार्यको कला
प्रतियोगितामा दृतिय भएको शिवानी जायसवालको कला
प्रतियोगितामा तृतिय भएको क्षितिज कोइरालाको कला