उपत्यकासहित पश्चिमी भेगमा हल्का वर्षा


 मौसमविद भन्छन्- अब जाडो सकियो 

Rain-2
तस्वीर गुगलबाट

१४ माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा हल्का पानीसमेत परेको छ । उच्च हिमाली भेगमा हिमपात भएको छ । पानी र हिमपातका कारण केही चिसो महसुस भए पनि अब जाडो हराउने मौसमविदको दाबी छ ।

दिपायल, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, सुर्खेत लगायत जिल्लाहरुमा शुक्रबार बिहानैदेखि पानी परिरहेको स्थानीयले जानकारी दिएका छन् ।

पश्चिम र मध्य नेपालको तुलनामा पूर्वी नेपालमा भने मौसममा कम बदली भएको छ । तर, पूर्वी भेगमा पनि बिस्तारै मौसम बदली हुँदै जाने, पानी पर्ने र उच्च हिमाली भेगमा हिमपात हुने पूर्वानुमान गरिएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

मौसमविद कँडेलले अनलाइनखबरसँग भनिन्- आज दिनभरि घाम लाग्दैन । सामान्य वर्षा हुन्छ र भोलिबाट मौसममा क्रमिक सुधार हुन्छ ।’

कँडेलका अनुसार शुक्रबार र शनिबार चिसो बढ्नेछ । तर, यो जाडो धेरै दिनसम्म रहने छैन ।

यस वर्ष जनवरी १६ मा सबैभन्दा धेरै जाडो महसुस गरिएको थियो । सो दिन काठमाडौं उपत्यकाको तापक्रम शून्य दशमलव चार डिग्री सेल्सियस पुगेको थियो । ‘अहिलेको मौसम बदलीले आज र भोलि चिसो त बढ्छ तर, जनवरी १६ को भन्दा नघट्ने अनुमान गरेका छौं,’ मौसमविद कँडेलले भनिन्, ‘यस वर्षको जाडो सकियो भने पनि हुन्छ, अब बिस्तारै तापक्रम बढ्ने क्रम सुरु हुन्छ ।’

साभारः अनलाइनखबर